• बुधबार, असोज ७ २०८३

उपहार पठाइदिन्छु भन्दै लाखौँ ठगी गरेको आरोपमा पास्टर पक्राउ


शुक्रबार, असोज ८ २०७८
745
Shares


सामाजिक सञ्जालमार्फत् महिलासँग परिचय गरी सम्बन्ध बनाएर उपहार पठाइदिन्छु भन्दै ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

भारतको दार्जिलिङ जिल्लाको सिलिगुढीस्थित प्रेन्टि क्रोस्टल चर्चका पास्टरसमेत रहेका ३३ वर्षीय सन्दीप क्षेत्रीलाई महानगरीय अपराध महाशाखाको टोलीले जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा पक्राउ गरेको हो ।

महाशाखाका सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार क्षेत्रीले उपहार पठाइदिन्छु भन्दै ५ लाख १० हजार रुपैयाँ ठगी गरेको भन्दै पीडित महिलाले उजुरी दिएकी थिइन् ।

क्षेत्रीले सामाजिक सञ्जालमा ‘नान्सी माइकल’को नामबाट ती महिलालाई फ्रेन्ड रिक्वेस्ट पठाएका थिए । त्यसपछि कुराकानी गर्ने क्रममा क्षेत्रीले ती महिलालाई आफूले प्रेम पनि गर्ने भन्दै विश्वास दिलाएर विभिन्न उपहारहरु पार्सल गरी पठाएको बताएका थिए ।

उपरीक्षक कोइरालाका अनुसार महिलालाई विश्वासमा पार्न क्षेत्रीले विभिन्न ट्रयाकिङ नम्बर समेत उपलब्ध गराएका थिए ।

महिलाको उजुरी पश्चात अनुसन्धान गर्दा भारतीय नागरिक क्षेत्रीले चर्चको कार्यक्रममा भेट हुने महिलाहरूलाई क्रिस्चियन धर्मसँग सम्बन्धित विभिन्न संघसंस्था तथा व्यक्तिहरुले सहयोग गरेको रकम आफ्नो खातामा झिकाउन नमिल्ने बताउँदै उनीहरूलाई खाता खोल्न लगाएर आफूले ठगी गरेको रकम ती खातामा जम्मा गर्न लगाउँथे । पछि ती महिलाहरूमार्फत सो रकम उनले भुक्तानी लिने गरेका थिए ।

क्षेत्रीलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको कोइरालाले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार