पोखरामा कुकुर पाल्नका लागि पनि महानगरपालिकामा दर्ता गर्नुपर्ने भएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले बिहीबारदेखी कुकुर दर्ता प्रक्रिया सुरु गरेको हो ।
नेपालमै पहिलोपटक कुकुर दर्ता तथा पालन अनुमतिपत्र वितरण सुरु गरेको महानगरले पहिलोपटक पोखराको वडा नम्वर ८ बाट दर्ता र पालन अनुमतिपत्र वितरणको शुभारम्भ गरेको छ ।
महानगरपालिकाले कुकुरलाई सडकमा छाडा छाडने व्यक्तिलाई अब, ५ देखि १५ हजारसम्म जरिवाना तिराउने जनाएको छ ।
कुकुर पालन दर्ता प्रक्रियाले पोखरालाई स्वच्छ बनाउन र रेबिजविरुद्धको खोप कार्यक्रमलाई समेत सहयोग पुग्ने महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन् ।
उनले कुकुर पालेर खुला बाटोमै दिसा पिसाब गराउँदा वातावरणसहित मानव स्वास्थ्यमा समेत असर पुगेको बताइन् ।
उपप्रमुख गुरुङले कुकुर दर्ता गर्नाले सडकमा छाडा कुकुरको कमी हुने र छाडे कारबाही गर्न पनि सजिलो हुने दाबी गरिन् । दर्ता प्रक्रियासँगै कुकुरलाई ट्याग (चिन्ह) दिइनेछ । जसका कारण कुकुर धनी पहिचान गर्न सजिलो हुने महानगरको भनाइ छ ।