गोरखा । गोरखा नगरपालिकामा युवाका सवालमा अन्तरकृया कार्यक्रम सम्पन्न भएकाे छ । दायित्व नेपाल जनप्रशासन फेलोहरुद्वारा स्थानीय युवा र जनप्रतिनिधि बिच ‘मेयरसँग नागरिक’ नामक जूम छलफल कार्यक्रम सम्पन्न भएको हाे ।
युवा र स्थानीय सरकारबिच विश्वासका खाडलहरु मेट्ने र संघीय सुशासन प्रणालीलाई चुस्त र प्रभावकारी बनाउन जनसहभागीता बढाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको गोरखाका लागि दायित्व जनप्रशासन फेलो दिपाश्री भट्टराईले बताइन् ।
स्थानीय साझेदार संस्था सोच नेपालसँगको सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रममा नगरपालिकाका मेयर श्री राजन राज पन्त, स्थानीय नागरिक समाज संस्थाका प्रतिनिधिहरु, मिडियाका प्रतिनिधिहरु, गोरखाका स्थानीय युवाहरु तथा अन्य दायित्व जनप्रशासन फेलोहरु गरी १५ जना भन्दा बढिको सहभागि रहेको थियो ।
कार्यक्रममा युवा स्वरोजगारी, युवा उद्यमशीलता विकास, युवा नेतृत्व, बजेट विनियोजन र पारदर्शीता जस्ता मुद्दाहरु माथि छलफल भएको थियो । गोरखा नगरपालिकाले कृषि, पर्यटन र पशुपालनका क्षेत्रमा युवाहरुलाई उत्प्रेरित गर्दै आएको र यो अरुका लागि र यी क्षेत्रहरुमा काम गर्न इच्छुक युवाहरुलाई नगरपालिकाको सदैव साथ रहेको मेयर राजन राज पन्तले बताए ।
यस्ता संवादले जवाफदेहिता प्रवर्द्धन गर्ने, स्थानीय नीतिगत मुद्दाहरुमा अन्तरको पहिचान गर्ने, र जनता-सरकारबिच सार्वजनिक बहसको अवसरहरु सिर्जना गरी जनताका प्रतिक्रियालाई संस्थागत गर्दै नीति निर्माण प्रक्रियामा युवा, महिला र सीमान्तकृत समुदायको समावेशीकरणलाई पनि बढावा दिने अपेक्षा गरिएको छ ।
दायित्व एक गैर नफामुखी, गैर सरकारी नेपाली संस्था हो जुन सन् २०१३ देखि दायित्वले नेपाल सरकारको साझेदारीमा ३० देशबाट प्रशिक्षित १२० नेपाली युवाहरुद्वारा ४० सरकारी संस्थाहरु र २४ सांसदहरुसँग संघीय, प्रान्तीय र स्थानिय तहमा नीति अनुसन्धान सहयोग पुर्याएको छ ।