• बुधबार, असोज ७ २०८३

चीनमा बालबालिकाले दिनमा ४० मिनेट मात्रै टिकटक चलाउन पाउने


बुधबार, असोज ६ २०७८
815
Shares

चीनमा बालबालिकामा टिकटकको लत बढेपछि दिनमा ४० मिनेट मात्रै चलाउन पाइने समयसीमा तोकिएको छ।

विश्वमै सबैभन्दा लोकप्रिय भिडिओ सेयरिङ एप टिकटक चीनमा ‘डुइन’को नामबाट उपलब्ध छ।

बालबालिका निकै झुम्मिन थालेपछि चिनियाँ टिकटकको मातृ कम्पनी बाइटडान्सले ब्लगपोस्मार्फत उनीहरूले अब बिहान ६ बजेदेखि राति १० बजेभित्र केवल ४० मिनेट मात्रै डुइन चलाउन पाउने घोषणा गरेको हो।

आफ्नो वास्तविक पहिचानबाट डुइनमा खाता खोलेका १४ वर्षमुनिका बालबालिकाका लागि यो नियम लागू हुने कम्पनीले जनाएको छ।

चिनियाँ टिकटक डुइनमा खाता खोल्न न्यूनतम उमेर हद तोकिएको छैन। जति कम उमेरका बालबालिकाले पनि यसमा खाता खोल्न पाउँछन्। तर १८ वर्षभन्दा मुनिका प्रयोगकर्ताले खाता खोल्न अभिभावकको स्वीकृति लिनुपर्छ। टिकटकमा खाता खोल्न भने न्यूनतम उमेर १३ वर्ष तोकिएको छ।

गत महिनादेखि चीन सरकारले १८ वर्षमुनिका किशोर–किशोरी तथा बालबालिकाले शुक्रबार र बिदाका दिन एक घण्टा मात्र भिडिओ गेम खेल्न पाउने, अन्य दिन नपाउने नियम लगाएको छ।

त्यस्तै गत फेब्रुअरीदेखि चीनले विद्यार्थीलाई विद्यालयमा फोन प्रयोगमा पनि बन्देज लगाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार