गोरखा । गत असोज १ गते आगलागीमा परेर घाइते भएकी गोरखाको धार्चे गाउँपालिका —२ रून्चेतकी गर्बी गुरूङको आज हेलिकप्टरमार्फत् उद्धार गरिएको छ।

आगलागीमा परेर घाइते भएकी उनको आर्थिक अभावले गर्दा उपचार गर्न र उद्धारमा ढिलाइ भएको थियो। आज फिस्टेल एअरको हेलिकप्टरमार्फत् उनको उद्धार गरिएको हो।
उनलाई उद्धार गरी काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल लगिएको उद्धारमा खटिएका धावा ग्याल्जेन लामाले बताए। लामाकै संयोजनमा उनको उद्धार गरिएको हो।

बाख्राको खोरमा आगलागी हुँदा उनी पनि जलेर घाइते भएकी थिइन्। आगलागीमा उनको १३ वटा बाख्रा पनि जलेर मरेका थिए। आगलागीले बाख्राको खोरसँगै उनको घरमा पनि क्षति पुर्याएको थियो।
उनको उपचारमा आर्थिक सहयोग गरिदिन उनको परिवारले आग्रह गरेका छन्।
