काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले ओमानमाथि ७ विकेटको शानदार जित हात पारेको छ ।
घरेलु टोलीलाई १२१ रनमा समेटेको नेपालले कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकको मद्दतमा मात्र १८.२ ओभरमा तीन विकेट गुमाएर लक्ष्य भेट्टायो ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र र आशिफ शेखले दोस्रो विकेटका लागि ९५ रनको साझदोरी गरे । ज्ञानेन्द्र ५२ र शरद भेषावकर १ रनमा अविजित रहे ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले ३७.१ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो ।
यद्यपि क्रिजमा टिकिरहेका कप्तान मक्सुदले आठौं विकेटका लागि नसिम खुशीसँग २२ र नवौं विकेटका लागि मलिमुल्लाहसँग २० रनको साझेदारी गर्दै स्कोर १०० भन्दा माथि कटाए ।
नेपालका लागि सन्दीप लामिछाने र करण केसीले ४/४ विकेट लिए । शरद भेषावकरले २ विकेट लिए । ओमानलाई पराजित गर्दै नेपाली टिमले प्रशिक्षक डेभ वाटमोरलाई पनि सुखद बिदाइ दिएको छ ।
लिग टू मा चौथो जित हात पारेको नेपाल ८ अंक जोड्दै अंकतालिकामा चौथो स्थानमा उक्लेको छ । ८ खेलबाट नेपालले ४ जित र ४ हार नतिजासहित ८ अंक नै जोडेको हो ।