काठमाडौं । कलाकार रमेश केसी ‘मट्टारे’को सुटिङकै क्रममा निधन भएको छ । उनको आइतबार हृदयघातका कारण निधन भएको कलाकार उत्तम केसीले बताए ।
‘आइतबार छन्दे स्टुडियोमा उनी एक म्युजिक भिडियो सुटिङ गर्दै थिए’ उत्तमले भने ‘एक्कासी ढल्न पुगे,तुरुन्तै गंगालाल अस्पतालमा पुर्याइएको थियो । तर बचाउन सकिएन ।’
छन्दे स्टुडियो तारकेश्वर नगरपालिका वडा नं ६ महाँकालमा रहेको छ । उनी बिहानै सिरियल ‘हल्के हवल्दार’ टिमको एक म्युजिक भिडियो सुटिङका लागि पुगेका थिए । लामो समयदेखि उनी मुटु सम्बन्धी समस्याबाट पीडित रहेका थिए ।
रंगमञ्चबाट अभिनय थालेका केसीले थुप्रै नाटक, सडक नाटक, म्युजिक भिडियो, टेलिसिरियल र फिल्मसमेत अभिनय गरेका छन् । उनी पछिल्लो समय सिरियल ‘एकादेशको चुरिफुरी’ ‘हर्के हवल्दार’ लगायतमा देखिँदै आएका थिए ।