काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गतको ओमानमा भइहरेको त्रिकोणात्मक सिरिजमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाल र ओमान बीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ ।
यसअघि तीन खेल खेलिसकेको नेपालले एक खेल जित्दा २ खेलमा हार बेहोरेको थियो । पहिलो खेलमै अमेरिकालाई पराजित गरेको नेपाल त्यसपछि ओमानसँग र अमेरिकासँग पराजित भयो ।
आज घरेलु टोलीसँग मैदान उत्रँदा नेपालले ओमानलाई हराउने अनि प्रशिक्षक डेभ वाटमोरलाई सुखद बिदाइ गर्ने लक्ष्य राखेको छ । २०२० फेब्रुअरीमा नेपानलमै भएको लिग टू को सिरिजमा नेपाल ओमानसँग दुवै खेलमा पराजित भएको थियो । लिग टू को अंकतालिकामा शीर्ष स्थानम रहेको ओमानविरुद्ध पहिलो जित हात पार्ने लक्ष्यमा नेपाल रहेको छ ।
लिग टू मा ओमान १२ खेलबाट २० अंकसहित शीर्ष स्थानमा छ । १५ खेल खेलिसकेको अमेरका १४ अंकसहित दोस्रो स्थानमा छ । ७ खेल खेलेको नेपाल तीन खेल जित्दै ६ अंक जोडेको छैटौं स्थानमा छ ।