• बिहिबार, असोज ८ २०८३

सडक निर्माणमा लापरवाही भएकाे भन्दै गोरखामा नागरिक समाजकाे धर्ना (फोटोफिचर)


शनिबार, असोज २ २०७८
745
Shares

गोरखा । सडक निर्माणमा लापरवाही भएको भन्दै गोरखामा नागरिक समाजले धर्ना दिएका छन् । गोरखा नगरपालिका वडा नम्बर ८ को खोलखोलेदेखि नगरपालिका कार्यालय जाने सडक निर्माणका क्रममा ठेकेदारले ढिलासुस्तीसंगै लापरवाही गरेको भन्दै नागरिक समाजले शनिबार स्थलगत अनुगमनपछि १ घण्टा सडकमै धर्ना दिएका हुन ।

नागरिक साझा सवाल गोरखाको नेतृत्वमा भएको कार्यक्रममा जिल्लामा कृयाशिल नागरिक समाज, अधिकारकर्मी, जनप्रतिनिधी, सञ्चारकर्मी लगायत स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।

२०७५ जेठ १६ गते केन्द्रिय आयोजना कार्यान्वयन इकाई कास्कीले सो सडकमा नालीसहित कालोपत्रेका लागि २ करोड ४६ लाख ७३ हजार रुपैयामा मिनिलियम कल्प वृक्ष जेवीसंग सम्झौता गरेको थियो । तर सम्झौताकाे म्याद २ पटक सकिदा समेत ठेकेदार कम्पनीले काम सम्पन्न नगरी झनै अलपत्र बनाएकाे भन्दै नागरिक समाज, अधिकारकर्मीसहित स्थानीयले बिराेध जनाएका हुन ।

साे सडक निर्माणकाे काम २०७६ मंसिर १६ गते सक्ने गरी ठेकेदार हरी पन्तले जिम्मा लिएका थिए । तर ठेकेदार पन्तले साे समयसम्म २० प्रतिशत पनि काम नसकेपछि कार्यान्वयन इकाइले म्याद थप गरी २०७७ भदाै ५ गतेसम्मकाे समयसिमा दिएकाे थियाे ।

तर त्याे समयसिमा कटेर हाल एक बर्ष बितिसक्दा समेत काम अलपत्र छ । ‘१ बर्षमा काम सक्ने भनेकाे ३ बर्षअघि नै हाे, तर हेर्नुस त बाटाेकाे हालत’ स्थानीय बिनाेद बस्नेतले भने ‘अहिले ४ महिना भयाे बाटाे मेसिनले बाटाे छेकेकाे, न काम गर्छ न बाटाे खाेल्छ, याे त अति नै भयाे ।’

गोरखा नगरपालिकासहित पूर्वाधार कार्यालय, वन डिभिजन कार्यालय लगायतका सरकारी कार्यालय जाने मुख्य बाटाे नै बर्षाैदेखि अलपत्र बनेपछि सेवाग्राही र स्थानीयले सास्ती भाेग्दै आएका छन् । साे क्षेत्र जाने वैकल्पिक सडक भएपनि अत्याधिक उकालाे र ओरालाे भएकाले यात्रा निक्कै जाेखिमपूर्ण रहेकाे स्थानीय बताउछन् ।

‘यहाँ आउने बाटाे नभएकाे हाेइन तर जसाे तसाे मान्छेले बाइक र माेटर ल्याउन सक्ने बाटाे नै छैन, यहिविचमा यहि बाटाेमा यात्रा गर्दा दुर्घटना भएर एक जनाकाे ज्यानै गइसक्याे’ स्थानीय कृष्ण बाबु थापाले भने ‘न बिरामी पर्दा एम्बुलेन्स आउछ, न मान्छे मर्दा शव वहान आउन सक्छ, पिडा झेल्ने पनि सिमा हुन्छ नि, सडकमा हिड्दापनि घुँडासम्म पाइन्ट सारेर हिड्नुपर्ने बाध्यता कहिलेसम्म ?’

बिराेध कार्यक्रममा सहभागी गोरखा नगरपालिकाकी उपमेयर विनाकुमारी श्रेष्ठले साे सडक निर्माणकाे जिम्मा संघिय आयाेजना अन्तर्गत भएकाले स्थानीय सरकारले चाहेरपनि केहि गर्न सक्ने अवस्था नरहेकाे बताएकी छिन् । ‘हामीपनि जाेखिम माेलेर अफिस आउजाउ गर्नुपर्ने अवस्था छ, पाेखराकाे अफिस र ठेकेदारलाई हामीले बारम्बार भनेका छाै तर हाम्राे समेत सुनुवाई भएकाे छैन’ उनले भनिन ‘अब जनता जाग्नुकाे विकल्प छैन ।’

वडाध्यक्ष कृष्ण बहादुर खत्रीले भने बाटाे बनाउन जनताले आन्दाेलन गर्नुपर्ने अवस्था आउनु दुखद भएकाे बताएका छन् । स्थानीयसंगै विराेध कार्यक्रममा सहभागी भएका केसीले केन्द्रिय आयाेजना र ठेकेदारका कारण स्थानीय सरकार समेत बदनाम हुनुपरेकाे दुखेसाे गरे ।

त्यस्तै नागरिक साझा सवालका संयाेजक स्थानेश्वर दुवाडीले तिनै तहका सरकारका सार्वजानिक सेवा प्रवाह र सञ्चालित विकास निर्माणका काममा नागरिक निगरानी बढाउनुपर्ने र सकरात्मक दवाव सृजना गर्दै उनिहरुलाई जवाफदेहि बनाउन सबै नागरिक एकतावद्ध हुनुपर्नेमा जाेड दिए ।

गोरखा नगरपालिका वडा नम्बर ६ रेडक्रश- आयुर्वेद- आलेगाउँ- जिल्ला वन कार्यालय तथा नपा चाेकदेखि डिभिजन कार्यालयसम्मकाे सडक स्ताराेन्नती गर्ने याेजना शिर्षकबाट साे सडक ४ मिटर चाैडा गरी कालाेपत्रे गर्ने कामसंगै आलेगाउँबाट रेडक्रश भवनसम्मकाे उकालाे बाटाे ढलानकाे समेत जिम्मा थियाे । तर ठेकेदार पन्तले आलेगाउँबाट रेडक्रशसम्म दुई स्थानमा गरी २१० मिटर दुरीमा कालाेपत्रे काम समेत सकेका छैनन् ।

त्याे संगै खाेलखाेलाबाट नगरपालिका जाने सडककाे काममा समेत उल्लेख्य प्रगती हुन सकेकाे छैन । यता साे सडक निर्माणकाे ठेक्का लगाउने संघिय आयाेजना कार्यान्वयन इकाइका प्रमुख झपटबहादुर थापासमेत सडक निर्माणमा ढिलाई भएकाे स्विकार्छन् । ‘याे धेरै ठूलाे याेजनापनि हाेइन, अब धेरै काम पनि छैन’ उनले सिभिलखबरसंगकाे कुराकानीमा भने ‘ठेकेदारले समयमा काम नगरिदिएकै हाे, यसमा लुकाएर लुक्ने बिषय छैन हामीले ताकेता गरिरहेका छाै ।’

तर ठेकेदार हरी पन्त भने आगामी दशैअघि सडक कालेपत्रे सक्ने दावी गर्छन् । ‘मेन सडकमा क्वान्टिटी कम छ, वन कार्यालय जाने बाटाेकाे क्वान्टिटी माथी मेन राेडमै लगाएर दशैसम्म सबै काम सक्छाै’ उनले भने ‘अब मेन राेडमा पनि साढे ४ सय जति मात्रै पिच गर्ने काम हाे, अरु गर्न बजेट छैन ।’

बिराेध कार्यक्रममा गोरखा नगरपालिका ६ का वडासदस्य आनन्द गुरुङ्ग, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरी सापकोटा, गैसस महासंघ गोरखाका अध्यक्ष सिताराम श्रेष्ठ, मानवअधिकार सञ्जालका अध्यक्ष यदु अधिकारी, सामुदायिक वन महासंघ गोरखाका अध्यक्ष कमल लामिछाने, मानवअधिकार तथा शान्ती समाजका सिताराम तिवारी लगायतको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार