• बिहिबार, असोज ८ २०८३

गोरखा नगरपालिका १ मा सार्वजनिक सुनुवाई, बर्षभरीमा उठ्याे जम्मा साढे ४ लाख राजश्व


बिहिबार, भाद्र ३१ २०७८
770
Shares

गोरखा । गोरखा नगरपालिका वडा नम्बर १ ले सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक बर्ष २०७७/७८ मा वडाभित्र सञ्चालित कार्यक्रम तथा योजनाको समिक्षा तथा २०७८/७९ मा सञ्चालन हुने कार्यक्रम तथा बजेटको जानकारी दिन भन्दै वडा कार्यालयले सार्वजानिक सुनुवाई आयोजना गरेको जनाएको छ ।

वडाध्यक्ष हिक्मत बहादुर कुवँरको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यता रहेको थियो । सोच नेपालको सहजीकरणमा भएको कार्यक्रममा वडाले बर्षभरी गरेका आम्दानी, खर्च तथा सेवा प्रवाहका बारे समेत सहभागीलाई जानकारी गराएको छ ।

कार्यक्रममा वडासचिव रवणबाबु कट्टेलले विवरण सार्वजानिक गर्दै गत बर्ष वडाले ४ लाख ६६ हजार १ सय ५८ रुपैया आम्दानी गरेको बताएका छन् । जसमा सम्पत्ति करबाट ५७ हजार ३ सय २२, मालपोत तथा भुमिकरबाट १ लाख १८ हजार ५ सय ७४, ब्यवसाय करबाट ४६ हजार ७ सय ५०, पञ्जिकरणबाट १४ हजार ३ सय ७०, सिफारिस दस्तुरबाट १ लाख ९८ हजार ६ सय ४०, अचल सम्पत्तिबाट ३० हजार ६ सय आम्दानी गरेको जनाएको हो । त्यस्तै नाता प्रमाणितबाट ११ हजार १ सय, घरबाटो प्रमाणितबाट ३२ हजार ४ सय र अन्य ५ हजार ५ सय २० राजश्व संकलन गरेको बताइएको छ ।

जसमा गत बर्ष २०७७/७८ मा वडाबाट नागरिकताका ८३ वटा सिफारिस, चारकिल्ला प्रमाणित ४१, घरबाटो सिफारिस ३१, नाता प्रमाणित २८ र विविध सिफारिस ८ सय ४१ वटा गरिएको बताइएको छ । कार्यक्रममा वडाले सेवा प्रवाहको विवरण सार्वजानिक गर्दै १ सय २५ वटा ब्यक्तिगत घटना दर्ता गरिएको बताएको छ ।

यसैगरी एक बर्षमा वडा क्षेत्रका ३ सय ६१ जनालाई गरेर १ करोड ३८ हजार ९ सय ५३ रुपैया सामाजिक सुरक्षा वापतको रकम वितरण गरिएको छ । त्यस्तै आर्थिक बर्ष २०७७/७८ मा ३५ योजना सम्झौता भएकोमा ३० वटा सम्पन्न भएको, ५ वटा क्रमागतमा रहेको र ३ वटा योजनामाा भने काम सुरु नै नभई बजेट फिर्ता गएको कार्यक्रममा सार्वजानिक गरिएको प्रतिवेदनमा उल्लेख छ ।

गत बर्ष स्वास्थ्य विकास, युवा तथा खेलकुद, आर्थिक विकास, सुशासन तथा संस्थागत, खानेपानी, शिक्षा, कृषि, भवन तथा मन्दिर निर्माण, सडक मर्मत तथा निर्माण, पूर्वाधार विकास लगायतमा गरी १ करोड ३८ लाख ५० हजार रुपैया बिनियोजन भएको थियो । जसमा वडागत ९० लाख र नगरस्तरीय योजनाबाट ४८ लाख ५० हजार बजेट रहेको बताइएको छ ।

त्यस्तै यस आर्थिक बर्ष २०७८/७९ मा वडागत बजेट ९० लाख रहेको र सो बजेट पूर्वाधार, खानेपानी, सिंचाई, कृषि, स्वास्थ्य, शिक्षा, शुसासन लगायतको विकासका लागि खर्च हुने उनको भनाई छ । यस बर्ष वडा नम्बर १ मा ८३ लाख रुपैया नगरस्तरीय बजेट बिनियोजन भएको कार्यक्रममा जानकारी गराइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख पन्तले सुशासन प्रवद्र्धनमा नगरपालिका प्रतिवद्ध रहेको बताएका छन् । आर्थिक बर्ष २०७६/७७ को लेखापरिक्षणमा करिब ३ करोड रुपैया बेरुजु देखिएको बताउदै उनले अधिकांश रकम योजना फरफारकका क्रममा भएको कमजोरीका कारण भएको दावी गरे ।

‘बेरुजु रकम आउनु भ्रष्ट्राचार होइन, बेरुजु त प्रकृया नपुगेका कारण देखिने हो’ मेयर पन्तले भने ‘मैले अडिट रिपोर्ट सबै पढे, यसमा अधिकांश बेरुजु योजनाका कामका छन्, उपभोक्ता समितिले योजना फरफारक गर्दा गरेको हेलचक्राईका कारण बेरुजु आएको छ, अब यसमा सबै पक्ष संवेदनशिल हुन जरुरी छ ।’

नगरपालिकाको कार्यसम्पादनलाई चुस्त दुरुस्त बनाउन लागि परेको बताउदै उनले काम गर्ने क्रममा भएका कमिकमजोरीलाई सच्याएर अघि बढ्ने प्रतिवद्धता ब्यक्त गरे । ‘काम गर्दै जादा सबै पूर्ण हुदैनन्, केहि कमजोरी पक्कै हुन्छन्, त्यसलाई सच्याउने मौका हामीलाई दिनुस’ उनले भने ‘तर हाम्रो कार्यक्षेत्रमै नपर्ने बिषयहरुमा समेत हामीलाई जोडेर गलत प्रचार भइरहेको छ, यसमा हामी सचेत हुन जरुरी छ ।’

त्यस्तै उनले संघ र प्रदेश सरकारले नगरभित्र योजनाहरु सञ्चालन गर्दा समन्वय नगर्दा अन्योल र असहजता समेत उत्पन्न भएको उनको गुनासो छ ।

कार्यक्रममा बिभिन्न टोलविकास संस्था, उपभोक्ता समितिका प्रतिनिधी, राजनीतिक दल लगायत स्थानीय बासिन्दाले बिभिन्न बिषयमा प्रश्न, जिज्ञासाका साथै गुनासो राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार