कोरोना महामारीका कारण तोकिएको मितिमा हुन नसकेको १२औं राष्ट्रिय जनगणना आजदेखि शुरु भएको छ।
पहिलो चरणअन्तर्गत आज घर तथा परिवारको सूचीकरण थाल्न लागिएको हो।
केन्द्रीय तथ्यांक विभागका अनुसार आजदेखि असोज १८ सम्म सुपरिवेक्षकहरू घरघर पुगेर घर तथा परिवारको विवरण संकलन गर्नेछन्। सूचीकरणअन्तर्गत परिवारमा रहेका महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यक सदस्यको विवरण लिइनेछ।
यसका लागि तालिम प्राप्त ८ हजार ५ सय सुपरिवेक्षकलाई सूचीकरणमा खटाइएको तथ्यांक विभागले जनाएको छ।
विभागका अनुसार असोज १८ गतेपछि गणक भर्ना गरी उनीहरूलाई कात्तिक १३ देखि १६ गतेसम्म तालिम दिइनेछ। त्यसपछि मूल जनगणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म गरिनेछ।
नेपालमा पहिलोपटक १९६८ सालमा राष्ट्रिय जनगणना भएको थियो। त्यसयता हरेक १०–१० मा जनगणना गर्ने गरिएको हो।