चितवन । नवलपुरको गैंडाकोटमा यात्रु बस र ट्रक आपसमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् ।
गैंडाकोट नगरपालिका वडा नं. १० स्थित २३ स्मृति पुल नजिकै सुदूरपश्चिम प्रदेश ०२–००१ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक मंगलबार बिहान चार बजेतिर ठोक्किएका हुन् ।
बस सडकदेखि १० फिट तल खस्दा दुई जना महिला र एकजना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी दिलिप कुमार गिरीले जानकारी दिए ।
मृत्यु हुनेहरूमा बर्दिया जिल्ला बासगढी नगरपालिका वडा नम्बर—८ की ७० वर्षीया योगमाया सुवेदी, कञ्चनपुर घर भएकी ४० वर्षीया रंगी तिवारी र कञ्चनपुरको महेन्द्रनगर झलारी बस्ने अन्दाजी ३०/३५ वर्षका कृष्ण राना रहेको प्रहरीले जनाएको छ। सुवेदीको भरतपुर अस्पताल र अन्य दुईको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो।
प्रहरीका अनुसार दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेहरुको नयाँ मेडिकल कलेज भरतपुरमै उपचार भैरहेको छ ।