गोरखा । गोरखा नगरपालिका क्षेत्रका सबै शैक्षिक संस्था आज साेमबारदेखि सञ्चालन हुने भएका छन् ।
कोभिड १९ को संक्रमण बढेपछि करिब पाँच महिनादेखी बन्द रहेका विद्यालयहरु आज सोमबारदेखि भौतिक उपस्थितिमा सञ्चालन हुन लागेकाे नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।
गत हप्ताकाे आइतबार शिक्षासँग सम्बन्धित सरोकारवालाहरुको सम्पन्न बैठकपछिको सिफारिसमा नगर शिक्षा समितिले स्वास्थ्य मापदण्ड पूरा गरी विद्यालय खुलाउने निर्णय गरेको हो ।
आज देखि २५० जनासम्म विद्यार्थी भएका विद्यालयहरुमा तोकिए बमोजिमको स्वास्थ्य मापदण्ड पूरा गरी एक सिफ्टमा भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने निर्णय भएको शाखाका स्रोत शिक्षक ध्रुवराज अर्यालले जानकारी दिए ।
सो भन्दा धेरै विद्यार्थी भएका विद्यालयहरुमा व्यवस्थापन समितिबाट कार्यविधि स्वीकृत गराई एक सिफ्टमा चार घण्टाको अवधि नघट्ने गरी भौतिक उपस्थितिमा पठनपाठन गर्ने, गराउने निर्णय गरिएको हो ।
हरेक विद्यालयले विद्यालय व्यवस्थापन समितिबाट स्वीकृत भएको कार्यविधि शिक्षा, युवा तथा खेलकुद शाखामा पेश गर्नुपर्ने बैठकले निर्णय गरेको उनले बताए ।
कोभिडका कारण विद्यालयहरु गत बैशाख महिनादेखि बन्द गरेको थियो ।
यता नगरक्षेत्रमा रहेका क्याम्पसहरु गोरखा क्याम्पस र द्रब्यशाह बहुमुखी क्याम्पसले समेत भाैतिक रुपमा पढाई सञ्चालनकाे तयारी थालेकाे छ ।