काठमाडौं । पपुवा न्युगिनी(पिएनजी) विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपालले जित हात पारेको छ।
मंगलबार ओमानमा भएको खेलमा नेपालले पिएनजीलाई २ विकेटले पराजित गरेको हो।
पिएनजीले दिएको १३५ रनको लक्ष्य नेपालले ८ विकेटको क्षतिमा ३९.३ ओभरमा पूरा गर्यो।
नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ४१ रन जोडे। उनले ६५ बलमा २ चौका प्रहार गरे।
सोमपाल कामीले नटआउट २२ रन जोडे। उनले ३१ बलमा १ चौका र १ छक्का प्रहार गरे।
मध्यक्रमका ब्याट्सम्यान लगातार आउट भएको अवस्थामा रोहित र सोमपालले सम्हालिएर ब्याटिङ गरेपछि नेपालको जित सम्भव भएको हो।
ओपनरद्वय आसिफ शेख ३० रन र कुशल भुर्तेलले १५ रन बनाए। आसिफले ४६ बलमा ४ चौका हिर्काउदा कुशलले २८ बलमा २ चौका प्रहार गरे। दुवैले एकदिवसीय खेलमा डेब्यू गरेका हुन्।
कप्तान ज्ञानेन्द्र मल्लले २० बल खेल्दा ६ रन मात्र जोड्न सके। यस्तै आरिफ शेख १९ बल खेलर ९ रन बनाएर आउट भए।
शरद भेषवाकारले २२ बलमा ६ रन मात्र जोड्न सके। कुशल मल्ल १ रनमा आउट हुँदा पवन सराफ डकआउट भए।
बलिङमा पिएनजीका गौडी टोकाले ३ विकेट लिए। डामियन राभू र चाड सोपरले २—२ विकेट हात पारे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पिएनजी ३३ ओभरमा १३४ रनमा अलआउट भयो।
पिएनजीलाई सस्तैमा समेट्न नेपालका लेगस्पिनर सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए।
विक्रम शोव र कुशल मल्लले २—२ विकेट लिए। सोमपाल कामीले १ विकेट हात पारे।
पिएनजीका लागि लेगा सैकाले सबैभन्दा बढी ३० रन जोडे।
नेपालले आइसिसी विश्वकप लिग—२ को त्रिकोणात्मक सिरिजअघि पिएनजीसँग एकदिवसीय खेल खेलेको हो।