काठमाडौं । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ ।
मादी नगरपालिका—१ का तेजबहादुर कार्कीको परिवारका सदस्यको हत्या भएको प्रदेश नम्बर १ का प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक नवीनराज राईले जानकारी दिए । एक जना भने घाइते भएका छन् ।
‘६ जनालाई धारिलो हतियारले हानेर मारेको भन्ने खबर आएको छ। हाम्रो टोली भर्खरै पुगेको छ,’ उनले भने, ‘एक जना वृद्ध मान्छे जोगिएको हो कि भन्ने छ। उपचारको लागि ल्याउने प्रयास भएको छ।’
मादी नगरपालिका वडा नम्बर १का वडाध्यक्ष खेमनाथ कटुवालका अनुसार धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हो।
उनका अनुसार ५७ वर्षीय तेजबहादुर कार्कीसहित ६ जनाको हत्या भएको हो।
८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएको उनले बताए।
घाइते भएका वृद्ध आँखा देख्दैनन् भने कान पनि सुन्न नसक्ने वडाध्यक्ष कटुवालले बताए। उनको अवस्था सामान्य छ।
उनीहरूको हत्या कसले गरेको हो भन्ने खुलिसकेको छैन।