अमेरिकामा आइडा नामक सामुद्रिक आँधीको प्रभावले भएको भीषण वर्षापछि आएको बाढीका कारण एकै परिवारका तीन जना नेपालीसहित कम्तीमा ४३ जनाको मृत्यु भएको छ।
समाचारमा उल्लेख भएअनुसार सोलुखुम्बुको दूधकुण्ड नगरपालिका-२ जुनवेशीका आङ गेलु लामा, उनकी श्रीमती मिङमार शेर्पा र उनीहरूका १९ महिनाका छोरा लोप्साङ लामाको बिहीबार बाढीमा परी मृत्यु भएको हो।
तीन दिनअघि अमेरिकी राज्य लुजियानामा आइडा आँधी प्रवेश गरेको थियो। उक्त आँधीका कारण लुजियानामा ठूलो भौतिक र मानवीय क्षति भएको थियो।
अचानक भएको वर्षाले घरका भुइँतलामा पानी भरिएको थियो । ज्यान गुमाउनेहरूमा धेरैजसो भुइँतलामा बसेका र सवारी साधन चलाइरहेका मानिसहरू भएको बताइएको छ ।