
गोरखा । काेराेना भाइरसकाे संक्रमण जाेखिमका कारण लामाे समयदेखि गोरखामा जारी निषेधाज्ञा हटेकाे छ । बिहिबार जिल्ला प्रशासन कार्यालय गोरखामा बसेकाे डिसिसिएमसी बैठकले जारी निषेधाज्ञा हटाउने निर्णय गरेकाे हाे ।

जसमा गोरखामा निजी तथा सार्वजनीक सवारी साधनमा लगाइएको जोर बिजोर हटेको छ भने बजार समेत दिनभर खुल्ने भएकाे छ । बजार बेलुकी सात बजेसम्म खुल्नेछ । होटल रेष्टुरेन्ट पनि बेलुकी ९ बजे सम्म खोल्न पाईनेछ ।

त्यस्तै संक्रमणकाे जाेखिम धेरै भएकाे भन्दै बिभिन्न ब्यवसायमा लगाइएकाे प्रतिबन्ध समेत हटाइएकाे सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जानकारी दिए । साे संगै अब ब्यूटिपार्लर, शैलुन लगायतका ब्यवसाय समेत खुल्ने भएका छन् ।
यता शैक्षिक क्षेत्र खाेल्ने अधिकार भने स्थानीय तहलाई दिने निर्णय भएकाे बताइएकाे छ । पालिका क्षेत्रमा काेराेना भाइरसकाे जाेखिम हेरेर डिसिएमसीले निर्माण गरेकाे मापदण्डभित्र रहि बिधालय तथा अन्य शैक्षिक संस्था खाेल्ने अधिकार स्थानीय पालिकालाई दिइएकाे सहायक प्रजिअ भण्डारीले सिभिलखबरलाई जानकारी दिए ।

