पोखरा । कोरोना रोग उपचारका लागि अत्यावश्यक मेसिनहरु हस्तान्तरण गरिएकाे छ । लायन्स क्लब अफ पोखरा सेती गण्डकीको आयोजना तथा विदेशमा बस्ने नेपालीहरुको सहयोगमा सङ्क्रामक तथा सरुवारोग अस्पताल, लेखनाथलाई कोरोना रोगको उपचारको लागि अत्यावश्यक छ लाख रुपैया बराबरको मेसिन तथा सामग्रीहरु हस्तान्तरण गरिएकाे हाे ।
जसमा स्वास प्रस्वासमा समस्या भएका गम्भीर विरामीको लागि जीवनदान दिने Non-invasive Ventilation BIPAP मेसिन– ३ थान, बेन्स सर्किट– ५० थान, बेन्स सर्किट मास्क– ५० थान, अक्सिजन मास्क (बच्चाको लागि समेत) १५० थान, नासल प्रोन्ज ५० थान रहेका छन् । सो अस्पतालमा कोरोनाको निःशुल्क उपचार हुदै आएकाे छ ।
सो कार्यक्रमको लागि पोर्टल्याण्ड, अमेरिका निवासी डा. सरोज श्रेष्ठ, डा. रमेश मरहठ्ठा, दिपेश वैद्य, ध्रुवराज श्रेष्ठबाट १ थान BIPAP मेसिन र ३० थान बेन्स सर्किट सहयोग प्राप्त भएको थियो । जर्मनवासी नेपालीहरुको तर्फबाट सर्मिला राजभण्डारी (अर्याल) र सीता गुरुङको संयोजकत्वमा १ थान BIPAP मेसिन प्राप्त भएको बताइएकाे छ ।
यसै गरी बेल्जियम निवासी हरिकृष्ण कार्की, मोहन के.सी., अमृत के.सी., सी.पी. भट्ट, बेनि ढुङ्गाना, तेजेन्द्र कँडेल, केदार थापा, सुन्दर पौडेल, सूर्य शर्मा, मुना ज्वारचन, अस्मिता घलेको तर्फबाट १ थान BIPAP मेसिन सहयाेग प्राप्त भएकाे थियाे । अस्ट्रेलिया निवासी विनयकुमार श्रेष्ठको संयोजकत्वमा त्यहाँका नेपालीहरुबाट अक्सिजन मास्क १५० थान, न्यासल प्रोन्ज ५० थान, बेन्स सर्किट २० थान प्राप्त क्रलबले जनाएकाे छ ।
क्लबका अध्यक्ष लायन कल्पना थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पूर्व डिस्ट्रिक गभर्नर लायन ध्रुव थापाज्यू प्रमुख आतिथ्यता रहेकाे थियाे । कार्यक्रममा सङ्क्रामक तथा सरुवारोग अस्पतालका व्यवस्थापन समिति सदस्य प्रा.डा. ध्रुवबहादुर अधिकारी तथा सो अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचनले सो सहयोग सामग्रीहरु ग्रहण गराएका थिए ।
अस्पतालमा निःशुल्क सेवा लिइरहेका बिरामीहरुलाई प्राप्त भएका उपकरणबाट अझ उच्चतम सुविधा दिन सकिने कार्यकारी निर्देशक डा. विकास गौचनले बताएका छन् । सो कार्यक्रममा सल्लाहकारद्वय लायन सुनयना पालिखे, लायन सुशीला के.सी. अधिकारी, जोन चेयरपर्सन लायन अरूणा शेरचन र क्लबका अरू साथीहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन क्लबका सचिव तथा कार्यक्रम संयोजक लायन शान्ति श्रेष्ठ उदासले गरेकी थिइन ।