पोखरा । गण्डकी प्रदेशमा थप २ सय ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ९ सय ६२ जनामा गरिएको नमूना परिक्षणमा २ सय ३०मा संक्रमण देखिएको हो। संक्रमित मध्ये १ सय १५ महिला र १ सय १५ जना पुरुष रहेका छन् ।
प्रदेशका ६ जिल्लामा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै कास्कीमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।
उनका अनुसार कास्की ५३, बागलुङ २१, स्याङ्जा ४१, म्याग्दी २०, पर्वत १७, गोरखा १३, लमजुङ १६, तनहुँमा ११ र नवलपरासी पूर्वमा ३८ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८० हजार २२४ पुगेको छ ।
गण्डकीमा संक्रमण उच्च रहेकोमा केही दिन देखि संक्रमण घढ्दोक्रममा देखिएको छ । दैनिकरूपमा सवै भन्दा धेरै संक्रमित देखिँदै आएको कास्कीमा समेत संक्रमितको संख्या घट्न थालेको छ । कास्कीमा दैनिक एक सय ५० देखि २ सयको संख्यामा संक्रमित देखिँदै आएकोमा पछिल्लो समय भने संक्रमितको संख्या २५ प्रतिशतमा झरेको छ ।
प्रदेशका विभिन्न अस्पतालमा उपचाररत ६ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–१५ का ८३ बर्षिय पुरुष, पोखरा–१ की ६५ बर्षिय महिला, र पोखरा–१५ का ५० बर्षिय पुरुषको मृत्यु भएको छ।
त्यसैगरी तनहुँ ब्यास –११ की ६४ बर्षिय महिला, ब्यास –१ की ५५ बर्षिय महिला र तनहुँकै भिमाद नगरपालिका –२ की ८० बर्षिय कोरोना संक्रमित महिलाको उपचारका उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ९० पुगेको छ।
गण्डकीमा हालसम्म ७६ हजार ४०० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । प्रदेशमा एकै दिन संक्रमणमुक्त हुनेको संख्या ५०४ पुगेको छ ।
गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ४ सय १८ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।