गोरखा । गोरखामा जारी निषेधाज्ञा केही खुकुलो गरिएको छ । जिल्लास्तरीय कोभिड विपत व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बिहीबार बसेको बैठकले भदौ १२ गते शनिबारदेखि निषेधाज्ञा केही खुकुलो गर्ने निर्णय गरेको हो ।


जिल्ला प्रशासन कार्यालय गोरखाले जिल्लामा कोरोना संक्रमण दर बढेपछि गत भदौ १ गते राती १२ बजेदेखि १० दिनसम्मका लागी कडा निषेधाज्ञा लागु गरेको थियो ।
उक्त निर्णय परिमार्जन गर्दै निषेधाज्ञा खुकुलो गरी भदौ १८ गते राती १२ बजे सम्म थप गरिएको प्रमुख जिल्ल अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
आजको बैठकले निजी तथा सार्वजनिक सवारी साधन जोर/बिजोर प्रणालीबाट सञ्चालन गर्ने निर्णय गरेको हो ।

यस्तै बजार बिहान ५ बजेदेखी दिउँसो २ बजे सम्म खोल्न पाउने, रेष्टुरेन्ट र मिठाई पसल बेलुका ५ बजे सम्म खोल्न पाउने, राष्ट्रिय वाणिज्य बैंकबाहेक अरु सबै सुचारु गराउने निर्णय गरेको छ । वाणिज्य भने अझै एक हप्तासम्म बन्द राख्ने निर्णय गरेको हो ।
होटल तथा लज पनि जनस्वास्थ्य मापदण्ड पालना गर्दै कुल कोठा संख्याको ५० प्रतिशत नबढ्ने गरी सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।
त्यस्तै मालपोत, प्रशासनलगायतका कार्यालयहरुको सेवा बार अनुसार सुचारु गराउने निर्णय भएको छ ।
