• शुक्रबार, असोज ९ २०८३

गोरखाका उत्तम श्रेष्ठलाई नेशनल जियोग्राफिक एक्सप्लोरर एवार्ड, पाए ५५ लाख रूपैयाँ


मंगलबार, भाद्र ८ २०७८
720
Shares

गोरखा । गोरखा नगरपालिका ६ का उत्तमबाबु श्रेष्ठलाई नेशनल जियोग्राफिक एक्सप्लोरर एवार्ड प्रदान गरिएको छ ।

कोरोनाले नेपालका संरक्षण क्षेत्रमा पारेको प्रभावको अध्ययन गर्नका लागि अमेरिकाको नेसनल जि‌‌ओग्राफिक सोसाइटीले श्रेष्ठलाई ४३ हजार डलर (करिब ५५ लाख नेपाली रूपैयाँ) बराबरको अनुसन्धान वृत्ति दिएको हो ।

अनुसन्धान मुख्य गरी नेपालको संरक्षण क्षेत्रमा हुनेछ । कोरोनाले नेपालको पर्यटन, वन्यजन्तु, वनस्पतिलगायत जैविक विविधताको क्षेत्रमा र त्यसमा आश्रित समुदायमा पारेको प्रभावबारे अध्ययन गर्नु अनुसन्धानको मुख्य उद्देश्य रहेको अनुसन्धानकर्ता श्रेष्ठले बताए ।

सेप्टेम्बर १ तारिखबाट सुरु हुने यो अनुसन्धान एक वर्षभित्रमा सम्पन्न गर्नुपर्नेछ ।

यो अनुसन्धान वृत्तिका लागि विश्वभरका १२ संयोजना अनुसन्धानकर्ताहरुले आवेदन दिएका थिए । तीमध्ये दोस्रो चरणमा ५० जना छनोट भएका थिए । छनोट भएकामध्ये १० जनालाई जनही ४६ हजार डलरको अवार्ड दिइएको हो । यो अनुदान पाउने श्रेष्ठ एक्ला नेपाली हुन् ।

श्रेष्ठले यसअघि पनि दुई पटक नेसनल जिओग्राफिक एक्सप्लोरर अवार्ड पाएका थिए । सन् २०१९ मा उनले ७३ हजार डलरको अनुसन्धान वृत्ति पाएका थिए । उक्त अनुदान ड्रोनको प्रयोग गरेर हिमाली चरन क्षेत्र(खर्क)को अध्ययनरअनुसन्धानका लागि दिइएको थियो । यो अनुसन्धान श्रेष्ठले अहिले पनि गरिरहेका छन् । २०२२ को सेप्टम्बरमा ३० मा अनुसन्धान सम्पन्न हुनेछ ।

सन् २०१२ मा पनि उनले यार्सागुम्बाको अध्ययनका लागि नेसनल जिओग्राफिक सोसाइटीबाट २० हजार डलरको अनुसन्धान अनुदान पाएका थिए ।

वातावरण, वनस्पति, जैविक विविधताको क्षेत्रमा अनुसन्धान गर्दै आएका श्रेष्ठ विज्ञान लेखनमासमेत सक्रिय छन् । वातावरण विज्ञानमा विद्यावारिधि गरेका श्रेष्ठ ग्लोबल इन्स्टिच्युट फर इन्टरडिस्प्लिनरी स्टडिजका निर्देशक हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार