काठमाडौँ । मनसुनी वायु सक्रिय रहेका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनको सामान्य प्रभावसँगै न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेकाले अहिले प्रदेश नं १ वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।
महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार मनसुनी वायुको सक्रियताले आइतबार रातिदेखि नै देशका पहाडी भेगमा वर्षा हुनुका साथै हाल तराई क्षेत्रमा वर्षा भइरहेको छ । उक्त क्षेत्रमा सोमबार दिनभर वर्षा हुनेछ ।
मनसुन एक सातासम्म सक्रिय रहने र आगामी शुक्रबारसम्म वर्षा हुने मौसमविद् पौडेलले बताए । विशेषगरी राति र बिहानको समयमा वर्षा हुनेछ । दिउँसोतिर केही आकाश खुलेपनि रातिको समयमा वर्षा हुने मौसमविद् पौडेलको भनाइ छ ।