• शुक्रबार, असोज ९ २०८३

गाईजात्रामा लकडाउन प्रभाव, गोरखामा साङ्केतिक रुपमा मनाइँदै (फोटाेफिचर)


सोमबार, भाद्र ७ २०७८
1.2K
Shares

गोरखा । आज नेवार समुदायमा गाईजात्रा पर्व मनाइँदैछ । नेवार समुदायको बसोबास भएका स्थानहरुमा बढि प्रचलन भएपनि पछिल्लाे समय अन्य जाती र समुदायका मानिसहरुले समेत यो जात्रा मनाउने चलन बढ्दै गएकाे छ ।

तर यस बर्ष पनि अघिल्लाे बर्ष जस्तै गाईजात्रा पर्वलाई कोरोना भाइरस (कोभिड–१९) ले प्रभावित बनाएकाे छ । गोरखामा गत भदाै २ गतेदेखि जारी निषेधाज्ञाका कारण यस वर्षको गाईजात्रा साँकेतिक रुपमा मात्रै मनाउनुपर्ने भएको छ ।

भीडभाडका बीच जात्रा मनाउँदा कोरोना सङ्क्रमण समुदायमा पनि फैलिने खतरा भएकाे भन्दै जिल्ला प्रशासन कार्यालय गोरखाले पर्व साँकेतिक रुपमा मनाउन आह्वान गरेकाे हाे ।

साेही अनुसार आज साेमबार बिहानैदेखि गोरखा बजार, छेवेटार, आरुघाट, पालुङटार लगायत नेवार समुदायकाे बसाेबास रहेकाे स्थानहरुमा वर्ष दिनभित्र मानिस मरेका परिवारका सदस्यहरुले गाई निकालेका छन् । यस बर्ष गाई निकाल्ने प्रकृयामा परिवारका सदस्यहरु मात्रै सहभागी रहेकाे बताइएकाे छ ।

एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना इलाकामा परिक्रमा गराइने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । 

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जनतालाई ‘आआफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आदेश दिएकामा यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यंगात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप जात्राको प्रचलन चलेको विश्वास गरिन्छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार