• शुक्रबार, असोज ९ २०८३

विद्युत् प्राधिकरणले देशभर ‘उज्यालो र शहर सफाइ अभियान’ चलाउने


आइतबार, भाद्र ६ २०७८
895
Shares


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सहरी सौन्दर्यलाई बृद्धि गर्न ‘उज्यालो र शहर सफाइ अभियान’ चलाउने भएको छ ।

उज्यालो सहर अभियानअन्तर्गत नगरपालिकाहरुसँगको समन्वय र सहकार्यमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरु, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरुमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गरिने छ ।

यसबाट सहरको सौन्दर्य अभिवृद्धि हुने, विद्युत् माग बढ्ने र रातिको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

साथै सफाइ अभियानअन्तर्गत मुख्य तथा सहायक सडकहरुमा रहेका प्रयोगविहीन अनावश्यक विद्युतीय पोल तथा तारहरु हटाउने, तारहरुलाई भूमिगत गर्नेलगायतका काम अगाडि बढाइने कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।

पहिलो चरणमा उज्यालो र सफाइ सहर अभियान संघीय राजधानी काठमाडौं उपत्यका, भरतपुर एवं पर्यटकीय पोखरा महानगरपालिकामा चलाइने र त्यसपछि विस्तार गर्दै देशभरी नै सञ्चालन गरिने छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले आफ्नो कार्ययोजनामार्फत वितरण लाइन तथा सबस्टेशनको क्षमता बृद्धी गर्दै वितरण प्रणालीको गुणस्तर सुधार गर्ने र शहरी क्षेत्रमा वितरण प्रणालीलाई भूमिगत गर्ने कार्यलाई विस्तार गर्दै लैजाने घोषणा गरेका थिए ।

यही घोषणालाई कार्यान्वयन गर्न प्राधिकरणले ‘उज्यालो र सफाइ सहर अभियान’ चलाउन लागेको हो ।

विद्युतको तारसँगै अप्टिकल फाइबर पनि बिछ्याइने हुँदा इन्टरनेट, दूरसञ्चार, केबल टेलिभिजन सेवा प्रदायकहरुले उक्त अप्टिकल फाइबर प्रयोग गरी सेवा प्रदान गर्न सक्नेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार