गोरखा । गोरखा नगरपालिका वडा नं ५ ले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा वडाभित्र सञ्चालित कार्यक्रम तथा योजनाको समिक्षा तथा ०७८/७९ मा सञ्चालन हुने कार्यक्रम तथा बजेटको जानकारी दिने उदेश्यले सार्वजनिक सुनुवाई गरिएको वडा कार्यालयले जनाएको छ ।
वडा नं ५ का वडाध्यक्ष राम कुमार थापा मगरको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यता रहेको थियो । सोच नेपालको सहजिकरणमा सम्पन्न भएको कार्यक्रममा वडाले आर्थिक वर्ष ०७७/७८ मा गरेको आम्दानी तथा प्रवाह गरेको सेवाका बारेमा जानकारी गराएको थियो ।

साथै कार्यक्रममा वडाभित्र सञ्चालित गत बर्षका वडागत र नगर स्तरिय योजना तथा खर्च भएको बजेटका र विवरण सार्वजनिक गरिएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य गीता थापा मगरले सो विवरण तथा चालु आर्थिक बर्ष सञ्चालन हुने बजेट तथा कार्यक्रम सार्वजनिक गरेकी हुन ।
गत आर्थिक वर्षमा वडाभित्र ३५ वटा योजनाहरु सम्झौता भएको बताइएको छ । कुल ९० लाख रुपैयाको वडागत योजनाहरु रहेपनि केही योजना भने क्रमागतमा रहेको बताइएको छ । त्यसैगरी आगामी आर्थिक वर्ष ७८÷७९ का वडाले ३७ वटा बिभिन्न योजनाहरु सम्पन्न गर्न ९० लाख रुपैंया बराबरको बजेट विनियोजन गरिएको कार्यक्रममा सार्वजनिक गरिएको छ ।
कार्यक्रममा योजना तथा बजेटको प्रभावकारी कार्यान्वयन गर्न र योजना समयमै सम्पन्न गर्नका लागि समयमै प्राविधिक खटाउनुपर्ने र निरन्तर अनुगमन गर्नुपर्ने, प्राथमिकताका आधारमा योजनाको छनोट गर्न स्थानीयले माग गरेका थिए ।
त्यस्तै आवस्यकताको पहिचान नगरी बजेट विनियोजन गर्दा योजना अझै अलपत्र बन्ने अवस्थामा पुग्ने गरेको समेत स्थानीयको गुनासो थियो । कार्यक्रममा लक्षित वर्गको उत्थान र सशक्तिकरण शिर्षकमा बजेट र योजनाले प्राथमिता नपाउनु दुखद रहेको भन्दै त्यसमा ध्यान दिन स्थानीयले माग गरेका छन् ।
कार्यक्रममा बोल्दै नगरप्रमुख पन्तले सिमित स्रोत साधनका कारण एकै बर्ष सोचे जति बजेट विनियोजन हुन नसकेको बताएका छन् । आवस्यकता धेरै रहेको र स्रोत कम भएकाले चाहादा चाहदै पनि बजेट कटौती गर्नुपर्ने बाध्यता स्थानीय तहमा रहेको उनले स्विकारे । त्यस्तै नागरिकको हरेक पिडामा जनप्रतिनिधीसंगै रहेको बताउदै उनले सुशासन, पारदर्शिता र जवाफदेहिताका पक्षमा आफू अडिक रहेको समेत बताए ।
त्यस्तै कार्यक्रममा वडाध्यक्ष थापाले काम गर्ने क्रममा कमजोरी समेत हुन सक्ने र सुधारका लागि सकरात्मक सुझावको आफुले सदैव अपेक्षा गर्ने गरेको बताए । वडाभित्र सञ्चालन भएका हरेक योजना र वडाले दिने सेवालाई चुस्त बनाउन आफू प्रतिवद्ध रहेको समेत उनले बताए । कार्यक्रममा १७ वटा टोल विकास संस्थाका प्रतिनिधि, राजनीतिक दल, स्थानीय बुद्धिजिवी, रेडियो श्रोता समुहका प्रतिनिधि लगायत स्थानीयको सहभागिता रहेको थियो ।