गोरखा । गोरखामा संक्रमणको दर बढ्न थालेपछि पुन: आजदेखि जिल्लाभर लकडाउन सुरु भएको छ । स्वास्थ्य कार्यालय गोरखाका अनुसार हाल जिल्लामा ६ सय ३ जना सकृय संक्रमित पुगेका छन् ।
त्यससंगै जिल्लाभर कोरोना संक्रमणको लक्षणसंग मिल्ने बिरामी बढ्न थालेपछि जोखिमको आँकलन गर्दै आज भदौ २ गतेदेखि ११ गते राती १२ बजेसम्म जिल्लाभर लकडाउन गर्ने कोभिड संकट व्यवस्थापन केन्द्र डिसिसिएमसीको बैठकले निर्णय गरेको हो ।
यो अवधी भर अत्यावश्यक बाहेकका व्यापार, व्यवसाय, यातायात, बैंक तथा वित्तिय संस्था, सरकारी तथा गैरसरकारी कार्यालयको सेवा सबै बन्द गरिएको छ । दैनिक उपभोग्य खाद्यन्न, तरकारी, दुग्धजन्य पदार्थ, माछामासु लगायतका पसल भने बिहान ५ बजे देखि १० बजेसम्म सञ्चालन हुनेछन् । औषधी पसल र पेट्राेल पम्प भने २४ सै घण्टा सञ्चालन हुने बताइएकाे छ ।
त्यस्तै एम्बुलेन्स, दमकल, शवबाहान, खाद्यन्न सामाग्री, पशुपन्छी तथा पशुपन्छीको दाना, तरकारी फलफूल, दुग्धजन्य पदार्थ, माछा, मासु, पानी, ग्याँस तथा पेटूोलियम पदार्थ बोकेका सवारी साधनलाई भने सञ्चालनको अनुमती दिइएको छ ।
यसैगरी अत्यावस्यक सेवा दिन परेकाे खण्डमा सरकारी कर्मचारी, बैंक तथा वित्तिय संस्थामा कार्यरत कर्मचारी, गैरसरकारी संस्थामा कार्यरत कर्मचारी, चिकित्सक तथा स्वास्थ्यकर्मीले सम्बन्धित कार्यालयको परिचयपत्रका आधारमा सवारी साधन प्रयोग गर्न पाउनेछन् ।
औषधी तथा स्वास्थ्य सामाग्री, मलबिउ, दाना, निर्माण सामाग्री बोकेका सवारी साधनलाई स्वास्थ्य र सावधानीका मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हर्क बहादुर रोकाले जानकारी दिए ।