• शनिबार, असोज १० २०८३

गोरखा पस्लाङका २७ बर्षिय ‘अनुप’ दुई महिनादेखि वेपत्ता


मंगलबार, भाद्र १ २०७८
2K
Shares

गोरखा । दुई महिनादेखि गोरखाको पस्लाङका एक युवक सम्पर्कविहिन बनेका छन् । गत जेठ २८ गते घरबाट निस्केका २७ बर्षका अनुप नामले चिनिने रेशम बहादुर शाही वेपत्ता भएका हुन । गोरखा नगरपालिका वडा नम्बर ५ पस्लाङ घर भएका अनुप जेठ २८ गते पन्थेश्वाँरामा काम गर्न जाने भन्दै घरबाट निस्केको र त्यसपछि फर्केर नआएको परिवार स्रोतको भनाई छ ।

गोरखा नगरपालिकाकै वडा नम्बर ४ मा पर्ने पन्थेश्वाँरामा त्यसअघि समेत उनि कामका लागि जाने गरेका थिए । घर बनाउने काम गर्ने गरेका अनुप सो दिन समेत कामका लागि बिहानै घरबाट निस्केको उनकी ठूलीआमा शान्तीदेवी शाहीले बताइन् । ‘काममा जानुछ भनेर घरबाट गएका थिए’ उनले सिभिलखबरलाई भनिन् ‘तर अहिलेसम्म न घर आए, न कसैको सम्पर्कमा गए, कहाँ छन् केहि अत्तोपत्तो छैन ।’

तर उनि हराएको खबर भने परिवारले असार २ गते मात्रै थाहा पाएका थिए । ‘असार २ गते कुलदेउताको पूजा थियो, २/३ दिन पहिला नै गएको छोरा किन आएन भनेर बिहानै फोन गरियो’ ठूलीआमा शाहीले भनिन् ‘मोबाइलमा फोन पनि गयो तर २ घण्टीमै काटियो, त्यसपछि अफ भएको मोबाइल अहिलेसम्म पनि अन भएको छैन ।’

वेपत्ता रेशम बहादुर शाही (अनुप)

फोन अफ भएपछि उनको परिवार र छिमेकी पन्थेश्वाँरा पुग्यो तर उनि त्यहाँ काममा पनि गएको र काम सकेर घर जान्छु भनेर फर्किएको जानकारी आफुहरुले पाएको वडासदस्य समेत रहेका स्थानीय रोहित बहादुर बोहोराले बताए । ‘काममा पनि गएको रहेछ, तर काम सकेर घर गएको हो भन्ने कुरा त्याहाका मान्छेबाट थाहा भयो’ बोहोराले सिभिलखबरलाई भने ‘अनि आफन्तहरुकोमा गएको छ कि भनेर खोजियो, अहिलेसम्म कतै कसैको सम्पर्कमा गएका छैनन् ।’

आफन्तको सम्पर्कमा समेत नरहेपछि असार १० गते उनका भाई किसान शाहीले जिल्ला प्रहरी कार्यालय गोरखामा अनुपलाई खोजिदिन भन्दै निवेदन दिए । खोजिदिने आश्वासन प्रहरीले दिएपनि निवेदन दिएको एक महिनासम्म प्रहरीले अनुसन्धानको कुनै प्रकृया सुरु नै नगरेको भन्दै साउन १४ गते पस्लाङ टोल विकास संस्थाको नेतृत्वमा प्रहरी कार्यालयमै पुनः निवेदन दिनुपरेको स्थानीयको गुनासो छ ।

‘प्रहरीले अनुसन्धान नै सुरु नगरेपछि टोलका हामी सबै गएर फेरी निवेदन दिएका छौ’ टोल विकास संस्थाका अध्यक्ष भाइकाजी आलेले भने ‘अहिले बल्ल कल डिटेलहरु लिएर प्रकृया अघि बढेको छ ।’

यता प्रहरी भने अनुसन्धान भइरहेको बताँउछ । ‘हामीले खोजी नगर्ने भन्ने प्रश्न नै छैन, अनुसन्धान भइरहेकै छ त’ जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले भने ‘मान्छे हराउनुको बिभिन्न कारणहरु हुन्छन्, ति मध्ये आफै हराएका मान्छे खोज्न बडा गारो हुन्छ, यसमा हामीलाई परिवारले पनि सुचना दिएर सहयोग गर्नुपर्छ ।’

डिएसपी दाहालका अनुसार अदालतकाे आदेश अनुसार कल डिटेल लिएर अनुसन्धान भइरहेको छ । साथै अनुपकाे फेसबुक एकाउण्ट (https://www.facebook.com/nischal.shahi.395) मा समेत जेठ २३ गतेदेखि कुनै अपडेट देखिएकाे छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार