पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय नाघेको छ । सोमबार प्रदेशभर थप १० जना संक्रमितको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २०६ पुगेको हो ।
प्रदेश स्वास्थ्य निर्देशनायका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट मृत्यु हुनेमा अधिकांश कास्कीका छन् ।
निर्देशनालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन समितिका संयोजक नवराज शर्माका अनुसार कोरोनाबाट मृत्यु हुनेमा कास्कीका ६ जना, स्याङ्जाका २, तनहुँ र नवलपुरका १/१ जना छन् । मृत्यु हुनेमा ४० देखि ८१ वर्ष उमेर समूहका छन् ।
पछिल्लो एक सातादेखि गण्डकीमा कोरोना संक्रमण र मृत्युदर बढेको छ । आइतबार मात्रै गण्डकीका १२ जना संक्रमितको मृत्यु भएको थियो । आइतबार पछिल्लो डेढ महीनायताकै सबैभन्दा बढी संक्रमितको मृत्यु भएको थियो ।
कोरोनाको पछिल्लो लहरमा कास्की बढी प्रभावित भएको छ । निर्देशनालयको तथ्यांकअनुसार कास्कीका मात्रै २ हजार बढी सक्रिय संक्रमित छन् ।