गोरखा । शहिद लखन गाउँपालिका वडा नम्बर ७ र ८ का स्थानीयले निशुल्क एम्बुलेन्स सेवा पाउने भएका छन् ।

बिरामी परेर स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि जिल्ला अस्पतालमा रिफर गरिएको खण्डमा बुंकोटबाट सदरमुकाम आउँदा जाँदा एम्बुलेन्स बापत कुनै पनि रकम तिर्नु नपर्ने बताइएको छ ।
‘सामाजिक सुरक्षा अन्र्तगत हामीले यो सेवा सुरु गरेका हौं,’ वडा नम्बर ८ का अध्यक्ष काशीनाथ अम्गाइँले भने, ‘यसले मातृ तथा शिशु मृत्युदर कम गर्नुका साथै स्वास्थ्य संस्थामा प्रसुती गराउनेहरु बढ्ने विश्वास लिइएका छौ ।’
वडा नम्बर ८ ले ६५ वर्ष भन्दा माथिका जेष्ठ नागरिक, क र ख वर्गको अपाङगता परिचय पत्र भएका व्यक्ति, गर्भवती, सुत्केरी महिला र अतिविपन्न समुदायका मानिसलाई सेवा दिने बताएको छ ।


त्यसका लागि ३ लाख बजेट समेत बिनियोजन गरिएको वडाध्यक्ष अम्गाईले बताए । ‘अहिलेसम्म २ जनाले कागजपत्र बुझाइसक्नु भएको छ ।’ उनले भने, ‘गाउँपालिकालाई पनि कार्यविधि निर्माण गरिदिन अनुरोध गरेका छौं ।’ उक्त कार्यक्रमका लागि सो वडामा ३ लाख बजेट बिनियोजन गरिएको छ ।
वडा नम्बर ७ मा भने २ लाख बजेट छुट्याइएको छ । त्यहाँ भने ७० वर्ष माथिका जेष्ठ नागरिक, क र ख वर्गको अपाङगता परिचय पत्र भएका व्यक्ति, गर्भवती, सुत्केरी महिला र अतिविपन्न समुदायका मानिसले निशुल्क एम्बुलेन्स सेवा पाउनेछन् ।

‘आम सर्वसाधरण सबैले स्वास्थ्य सेवा पाउनु पर्छ भन्ने हाम्रो धारणा हो,’ वडा नम्बर ७ का अध्यक्ष शरण श्रेष्ठले भने,‘यो वर्ष एक सय जनालाई सेवा दिने हाम्रो लक्ष्य छ ।’ उक्त सेवा प्राप्त गर्नका लागि बुंकोट स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्र बुंकोटले रिफर गरेको हुनु पर्ने उनले बताए ।
पहिलो चरणमा दुवै वडामा २०७८ साउन १ गते बाट उक्त सेवा सुरु भइसकेको छ । एम्बुलेन्स खर्चको अभावमा उपचार गर्न नसक्नेहरुलाई विशेष लाभ पुग्ने विश्वास लिइएको छ ।
