पोखरा । गण्डकी प्रदेशभर हाल ६ हजार १ सय ३८ जना सक्रिय संक्रमित छन् । तीमध्ये ५ हजार ८ सय संक्रमित होम आइसोलेसनमै उपचाररत रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट आइतबार थप १२ जनाको मृत्यु भएको छ । यो असार दोस्रो सातायताकै सबैभन्दा बढी हो । शनिबार मात्रै गण्डकीका १० संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घन्टामा कोरोनाबाट ज्यान गुमाउनेमा नवलपुरका ५, स्याङ्जाका ५ र कास्कीका ३ जना छन् । योसँग गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार १९२ पुगेको छ । गण्डकीमा कोरोनाबाट ज्यान गुमाउनेमा सबैभन्दा बढी कास्कीका छन् ।
असार १५ गते गण्डकीमा ११ जना संक्रमितको मृत्यु भएको थियो । त्यसपछि विस्तारै संक्रमण घट्दै गएको थियो भने मृत्युदर पनि घट्दै गएको थियो । यही बीचमा मृत्युदर घटेर २४ घण्टामा एक जनाको मात्रै पनि मृत्यु भएको थियो । सोही समयमा गण्डकीमा जारी निषेधाज्ञा खुकुलो बनाइएको थियो ।