गोरखा । गोरखाकाे पालुङटारमा कुमाल जातीकाे साँस्कृतिक संग्राहालय निर्माण हुने भएकाे छ । पालुङ्गटार नगरपालिका वडा नम्बर ७ काे कोलडाँडाँमा कुमाल जातीकाे अस्तित्व झल्काउने संग्राहालय निर्माण हुने भएकाे हाे ।
संग्राहालयको शुक्रबार एक कार्यक्रमकावीच पालुङटार नगरपालिकाका मेयर ई. दिपक बाबु कंडेलले शिलान्यास गरेका छन् । दुईवटा संग्राहालय पूर्ण गर्ने आवाधिक योजना अन्तर्गतको नगर प्रमुखको ड्रिम योजना भित्र रहेको उक्त योजना समयमै सम्पन्न गर्ने गरि निर्माण सुरु गरिएकाे बताइएकाे छ ।
पालुङटार नगरपालिकाभित्र बसाेबास गर्ने कुमाल जातीको रितीरिवाज, रहन-सहन, भेषभुषा, साँस्कृतिक पहिचान र अस्तित्व लगायतका बिषय झल्किने खालको संग्राहलय निर्माण हुने मेयर कडेंलले बताए । यसबाट जिल्ला, नगर भित्रका तथा देशभरका विद्यार्थीहरुलाई कुमाल संस्कृतिको अध्यापन गराउन सकिने र आन्तरिक र बाह्य पर्यटकहरुलाई समेत आकर्षित गर्न सकिने उनको भनाई छ ।

पालुङटार नगरपालिकाको वडा नं १, ४, ५, ६, ७, ८ र ९ मा कुमालहरुको बसोबास रहेको छ । पालुंटारमा कुल जनसंख्याको ११.२५% जनसंख्या कुमाल जातीका समुदायकाे रहेकाे बताइएकाे छ ।
विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण उत्पन्न जटिल परिस्थितिका कारण निर्माण हुन नसकेको उक्त संग्राहालय आ.ब. २०७७/७८ को बजेटबाट बिनियोजित बीस लाख रकमबाट सम्झौता बमोजिम समयमा नै काम सम्पन्न गर्ने गरि सनद निर्माण सेवाले उक्त कामको जिम्मा लिएको छ । शिलन्यास कार्यक्रममा पालुङटार न.पा वडा नं ७ का वडाअध्यक्ष बसन्त कुमार श्रेष्ठ, वडा सदस्यहरु लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।