काठमाडौं । सरकारले त्रिभुवन विश्व विद्यालय अन्तर्गत सञ्चालित परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप दिन शुरु गरेको छ ।
स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार आजदेखि साउन ३० गतेसम्म प्रवेशपत्रका आधारमा विद्यार्थीहरूलाई खोप दिन सुरु गरिएको हो ।
विद्यार्थीले काठमाडौंको प्रहरी अस्पताल, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल, निजामति कर्मचारी अस्पताल र राधास्वामी आइसोलेसन खोप केन्द्रमा गएर खोप लगाउन सक्नेछन् ।
त्रिविले सञ्चालन गर्ने करिब ६० हजार परीक्षार्थीलाई खोप दिने निर्णय बुधबारको सचिव स्तरीय बैठकले गरेको थियो ।
उपत्यका बाहिर रहेका विद्यार्थीले भने नजिकैको खोप केन्द्रमा गएर प्रवेशपत्रको आधारमा खोप लगाउन पाउने छन् ।