काठमाडौं । काठमाडौंको गुहेश्वरीमा एक व्यक्तिले गभर्वती श्रीमतीको हत्या गरेका छन् ।
प्रहरीले २३ वर्षकी श्रीमती रञ्जना तामाङको घाँटी थिचेर हत्या गरेको आरोपमा मकवानपुरको हेटौंडा घर भई गुहेश्वरी करिडोरमा बस्ने ३९ वर्षका राम श्रेष्ठलाई पक्राउ गरेको हो । रञ्जना ६ महिनाकी गभर्वती थिइन् ।
हत्यापछि उनी आफैंले प्रहरीको हटलाइन १०० नम्बरमा फोन गरेर आफूले श्रीमतीको हत्या गरेको जानकारी दिएका थिए । उनले फोन गरेपछि प्रहरी टोली पुग्दा कोठाभित्र चुकुल लगाएर बसेको अवस्थामा अभियुक्त र ओछ्यानमा रञ्जनाको शव भेटिएको थियो ।
श्रीमतीसँग बिवाद हुँदा आफूले घाँटी थिचेर हत्या गरेको भनेर श्रेष्ठले स्वीकारेको प्रहरीले जनाएको छ ।
शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।