काठमाडौं । मनसुन न्यून चापीय रेखा नेपाल नजिकै सरेकाले सोमबारसम्मै ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
मौसमविदका अनुसार मनसुन न्यून चापीय रेखा बुधबार साँझदेखि नेपाल नजिक छ । त्यसैले हाल देशभर बादल लागेको छ र प्रदेश नं. १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
‘मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिकै सरेकाले मनसुन सक्रिय भएको छ,’ मौसमविद समिर श्रेष्ठले भने, ‘यसको प्रभाव आगामी आइतबार/सोमबारसम्मै रहने देखिन्छ ।’ उनले एकै ठाउँमा लगातार ठूलो पानी पर्ने नभइ फरक/फरक दिन र स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको बताए । यस्तो क्रम आगामी एक सातासम्मै रहने उनले बताए ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुन थप सक्रिय हुनेबारे यसअघि नै विशेष बुलेटिन निकालेर जानकारी गराएको थियो ।
महाशाखाले बिहीबार बिहान जारी गरेको तीन दिनको मौसमी पूर्वानुमान बुलेटिनमा लेखिएअनुसार आगामी चौबिस घण्टाको अवधिमा प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ ।
पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम समेत रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।