प्रहरीले रौतहटबाट तीन जनालाई नक्कली नोटसहित पक्राउ गरेको छ।
एक हजार दरका ९ लाख ९३ हजार रूपैयाँसहित प्रहरीले आइतबार राति तीन जनालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा धनुषा बट्टेश्वर गाउँपालिका— ४ का ३८ वर्षीय शत्रुधन वरई ठाकुर, महोत्तरी बर्दिवास नगरपालिका— ९ का ३० वर्षीय रञ्जित महतो र महोत्तरी भंगाहा नगरपालिका— ४ का २५ वर्षीय दीपेन्द्रकुमार महतो छन्।
उनीहरूलाई रौतहटको इशनाथ नगरपालिका— ४ कालिमन्दिर नजिकैबाट पक्राउ गरिएको रौतहट प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण चिमरियाले बताए।
चिमरियाका अनुसार यी नोट भारतमै छपाइएका हुन्। प्रारम्भिक अनुसन्धानमा उनीहरूले भारतबाटै ल्याएको बताए पनि थप उल्लेख गरेका छैनन्।
उनीहरू भरिया वा कारोबारी हुन् भन्ने यकिन भइसकेको छैन। प्रहरीले उनीहरूसँग सोधपुछ गरिरहेको छ।