समान अधिकारका लागि आन्दोलनरत भूतपूर्व गोर्खाहरूले बेलायती प्रधानमन्त्री कार्यालयअगाडि आमरण अनशन सुरु गरेका छन् ।
गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिको आह्वानमा १७ दिन रिले अनशन बसेपछि उनीहरूले शनिबारदेखि आमरण अनशन थालेका हुन् ।
आमरण अनशनमा भूपू गोर्खाहरू ज्ञानराज राई र धनबहादुर गुरुङ एवं गोर्खा एकल महिला पुष्पा राना घले छन् । राई सन् २०१३ मा पनि भोक हडतालमा उत्रिएका थिए । राईले आफू अस्वस्थ रहे पनि समान अधिकारका लागि आमरण अनशन बसेको बताए ।
परराष्ट्र मन्त्रालयले शनिबार नै सत्याग्रहका प्रमुख संयोजक राईलाई बेलायत सरकारसँग कूटनीतिक पहललाई निरन्तरता दिइने जनाउँदै भोक हडताललगायत विरोध कार्यक्रम फिर्ता लिन आग्रह गरेको थियो ।
पेन्सन समानतालगायत समाधान हुन बाँकी विषयबारे नेपाल सरकार संवेदनशील रहेको उल्लेख गर्दै परराष्ट्र सहसचिव निर्मलराज काफ्लेले लेखेको पत्रमा संयुक्त प्राविधिक समितिको प्रतिवेदनका आधारमा आगामी चरणको वार्ताका लागि बेलायत सरकारलाई शनिबारै पत्राचार गरिएको उल्लेख छ ।
प्रमुख संयोजक राईले बेलायत सरकारले विगतका पटकपटकको अनुरोध पनि बेवास्ता गरेको जनाउँदै विश्वस्त हुन नसकेकाले भोक हडतालमा उत्रनुपरेको जनाए । भूतपूर्व गोर्खाहरूले ९ नोभेम्बर १९४७ को त्रिपक्षीय सन्धिको भावनाअनुसार समान अधिकार पाउनुपर्ने माग राख्दै आएका छन् ।
सन् २०१८ मा बेलायत र नेपाल सरकार एवं भूतपूर्व गोर्खा प्रतिनिधिहरू सम्मिलित एक प्राविधिक समितिले पटकपटकको वार्तापछि तयार गरेको १३ बुँदे प्रतिवेदन दुवै देशका सरकारलाई हस्तान्तरण गरिएको थियो । भूतपूर्व गोर्खाहरू उक्त प्रतिवेदन कार्यान्वयन होस् भन्ने चाहन्छन् ।