बौद्ध धर्मको बहुमूल्य ग्रन्थ भनी झुक्याएर सर्वसाधारण ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नुवाकोट शिवपुरी गाउँपालिका—१ घर भई माकलबारी बसिरहेका २० वर्षीय आशिष लामा तामाङ र भोजपुर रामप्रसाद गाउँपालिका—७ घर भई हाल काठमाडौं चाबहिल बसिरहेका ३० वर्षीय रजिन राईलाई आरुबारीबाट पक्राउ गरेको हो।
उनीहरूले आरुबारी नै बस्ने हेमप्रकाश मगरबाट १३ लाख ७९ हजार रूपैयाँ ठगी गरेको प्रहरीको दाबी छ।
तामाङ र राईले धार्मिक ग्रन्थ देखाएर त्यसको मूल्य ३ करोड ८५ लाख पर्ने बताउँदै मगरलाई झुक्काएका थिए। पक्राउ परेका दुबै जनालाई कारबाहीको लागि काठमाडौं जिल्ला प्रहरी परिसर पठाइएको छ ।