गोरखा । बेलायतको रश्मोरबरो काउन्सिलले भगिनी सम्बन्ध भएको गोरखा नगरपालिकालाई ६५ लाखको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।


गत वर्ष गोरखा नगरपालिकासँग भगिनी सम्बन्ध गाँसेको रश्मोर काउन्सिलले बढ्दो कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागी स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।
सहयोगमा स्वास्थ्यकर्मी तथा अत्यावश्यक सेवामा खटिएका कर्मचारी र स्वयंसेवकहरूका लागि चाहिने मास्क, पञ्जा, एप्रोन, जुत्तालगायत स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध भएको नगर प्रमुख राजन राज पन्तले जानकारी दिए ।
बुधवार गोरखा आईपुगेको स्वास्थ्य सामग्री बिहीबार सम्पन्न भर्चुअल कार्यक्रममा रश्मोर बरोका प्रमुख ब्रुस थोमसले नगर प्रमुख पन्तलाई हस्तान्तरण गरेका थिए।

भर्चुअल कार्यक्रममा नगर प्रमुख पन्तले काउन्सिलले हस्तान्तरण गरेको स्वास्थ्य सामग्री जिल्लाका सबै तहमा आवश्यकतानुसार उपलब्ध गराइने बताए।
हस्तान्तरण कार्यक्रममा रश्मोर बरोका तर्फबाट काउन्सिलका नेता डेभिड क्लिफोर्ड, काउन्सिलरहरु बेल्वासे र थापा, काउन्सिलको डेमोक्रेसी एन्ड कम्युनिटी विभाग प्रमुख एन्ड्रु कोल्भर, ग्रेटर रश्मोर नेप्लिज कम्युनिटीका अध्यक्ष रामधन राई, गोर्खा वेल्फेयर ट्रष्टका ग्यारी घले, पत्रकार वाचस्पति रेग्मी र गोरखा नगरपालिकाका तर्फबाट उपप्रमुख विनाकुमारी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त लगायतको उपस्थिति थियो।
