होहल्ला गरेको भन्दै जाजरकोटमा वडा अध्यक्षले स्थानीय युवालाई डोरीले बाँधेर निर्घात कुटपिट गरेका छन्।
जुनीचाँदे गाउँपालिका २ का वडाध्यक्ष रामबहादुर नेपालीले सोही ठाउँका सर्ते नेपाली भन्ने नवीन परियारलाई कुटपिट गरेका हुन्।
उनले कुटपिट गरेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।
वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको बेला मदिरा सेवन गरेर आएका नेपालीले अपशब्द बोल्दै ढुंगा प्रहार गर्न थालेपछि उनलाई नियन्त्रणमा लिने प्रयास गरिएको वडा कार्यालयले जनाएको छ।
प्रहरीले भने मदिरा सेवन गरी होहल्ला गरेकाले नियन्त्रणमा दिने क्रममा स्थानीयबाट ती युवामाथि केही हातापात भएको जनाएको छ। घटनाको विषयमा अहिलेसम्म कुनै पक्षबाट उजुरी नआएको स्थानीय प्रहरीले जनाएको छ।
सम्बन्धित पक्षबाट उजुरी आएमा आवश्यक छानविन गरी दोषीमाथि कारबाही गरिने प्रहरी निरीक्षक खुमानन्द न्यौपानेले बताए।
यसैबीच नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि घटनाप्रति चासो राखेका छन्। उनले असहाय नागरिकलाई डोरीले बाँधेर निर्घात कुटपिट गर्ने जनप्रतिनिधि जुनसुकै दलका भए पनि कानुनी कारबाहीको भागिदार बन्नुपर्ने बताएका छन्।
प्रवक्ता शर्माले घटनाप्रति गृहमन्त्री बालकृष्ण खाँडकोसमेत ध्यानाकर्षण गराएका छन्।