गोरखा । गोरखा सदरमुकाम नजिकै रहेको कट्टेलडाँडाँ क्षेत्रको जमिन भासिनुका साथै चिरा परेको छ । गोरखा नगरपालिका वडा नम्बर ८ को कट्टेलडाँडाँ गाउँदेखि पश्चिमी क्षेत्रमा करिब १ किलोमिटर क्षेत्रफलमा जमिन फाटिएको हो ।
ठिगुरेश्वाँरादेखि आमडाँडाँ जाने सडकखण्ड अन्तरगत माथील्लो क्षेत्रमा पर्ने बदेली ढापको अधिकांश खेतियोग्य जमिन भासिनुका साथै करिब १ किलोमिटर जमिन चिरा परेको स्थानीय बाबुराम कट्टेलले जानकारी दिए ।
‘२ महिनाअघि बारीमा जादा जमिन फाटेको सानो धर्साजस्तो देखिएको थियो’ उनले भने ‘अहिले त त्यो १ किलोमिटर जति फैलिसकेको छ, चिरा परेको ठाउँपनि बढेर १० देखि १५ सेन्टिमिटर जति पुगेको छ ।’

स्थानीयका अनुसार चिरा परेको कतिपय स्थानको जमिन भासिन समेत थालेको छ । साविक रहेको जमिनको भागभन्दा करिब ४ फिटजति तल भासिएको कट्टेलले सिभिलखबरलाई बताए ।
गाउँ रहेको जमिनको पश्चिमी क्षेत्र चिरा पर्न थालेपनि स्थानीय चिन्तित बनेका छन् । २ महिनाअघिदेखि खेतीयोग्य बारीमा चिरा पर्नेक्रम सुरु भएको र हाल निरन्तरको बर्षातका कारण सो क्रम झनै बढ्न थालेपछि स्थानीयमा जोखिमको त्रास बढेको हो ।
‘गाउँ माथी छ, तल सबै चिरा पर्दै गएको छ’ स्थानीय जनप्रतिनिधी समेत रहेकी राधिका कट्टेलले सिभिलखबरलाई भनिन ‘यस्तो भिरालो जमिन छ, भोली पहिरो नआउला भन्न सकिन्न ।’
गाउँमा पहिरोको जोखिम र खेतीयोग्य बारी भासिदै गएपछि अध्ययनका लागि स्थानीयले भुगर्वविदलाई गुहार्ने तयारी गरेका छन् ।

सो जमिनको अवस्था, सम्भावित जोखिम, जाेखिम न्यूनिकरण लगायत बिषयको अध्ययन, अनुसन्धान गर्नका लागि भुगर्वविदलाई बोलाउने प्रकृया सुरु गर्न र तत्काल सम्भावित जोखिम न्यूनिकरणका साथै सम्बन्धित निकायसम्म पहल गर्न भन्दै स्थानीय राजन कट्टेलको संयोजकत्वमा ५ सदस्यिय समिति गठन गरिएको छ ।
जसको सदस्यहरुमा वरुणबाबु कट्टेल, बाबुराम कट्टेल, अञ्जना कट्टेल र शान्ता कट्टेल रहेका छन् । सो समितिले वडा कार्यालय, नगरपालिकाको कार्यालयलाई जानकारी गराउने, आवस्यक अध्ययन, अनुसन्धानका लागि जिल्ला विपद ब्यवस्थापन समिति मार्फत भुगर्वविदहरु ल्याउन पहल गर्ने बताइएको छ ।
