गोरखा । युवाको सवाल र समाधान विषयक राउण्ड टेवल कार्यक्रम गोरखामा सम्पन्न भएको छ ।
बुुधवार सम्पन्न भएको उक्त भर्चुअल कार्यक्रममा प्रदेश सांसद माननीय प्रकाश चन्द्र दवाडीले प्रदेश सरकारले बढि भन्दा बढि उद्यमशिलता तथा रोजगारी अभिवृद्धि गर्ने उदेश्यले कृषि तथा पशुपालनमा बजेट विनियोजन गरि काम गरिरहेको बताए ।
गोरखा नगरपालिकाकी उपमेयर विना कुमारी श्रेष्ठ तथा गाँउपालिका महासंघ गण्डकी प्रदेशको संयोजक एवं भिमसेन थापा गापाको अध्यक्ष इश्वर पाण्डेले रोजगारी र सीप विकासको कार्यक्रमहरु तय गरिएको भएता पनि युवाहरुले वैदेशिक रोजगारलाई आफ्नो रोजाई बनाएकोले युवा लक्षित कार्यक्रम प्रभावकारी नभएको बताएका थिए ।
पत्रकार महासंघ गोरखाको अध्यक्ष नरहरी सापकोटा तथा जिल्ला युवा समितिको अध्यक्ष राजन गुरुङले अझै पनि युवाहरुले स्वदेशमा बसेर काम गर्ने उपयुक्त वातावरण, लगानी सुनिश्चिता, भएको उत्पादनको समेत बजारीकरणमा समस्या भएको कारण दैनिक अन्तराष्ट्रिय विमानस्थलमा हजारौको संख्यामा युवाहरु बाहिरिन परेको बताएका थिए ।
एक फरक प्रसंगमा जिल्ला निर्वाचन कार्यालयको प्रमुख टेक बहादुर कोइरालाले गोरखामा नागरिकता बनाउने र मतदाता परिचयपत्र बनाउने बिचको खाडल ठुलो भएकाले धेरै युवाहरु आगामी निर्वाचनमा परिचयपत्र नभएकै कारण मतदानवाट वञ्चित हुनुपर्ने स्थिती रहेको बताए ।
कार्यक्रममा वोल्दै कोइरालाले भने गोरखामा त्यसै पनि भोट वदर हुनेको संख्या गत स्थानीय निर्वाचनको आधारमा ३.२४ प्रतिशत छ । अझ उत्तरी गोरखामा झण्डै ५.६ प्रतिशत रहेको छ । त्यसकारण स्थानीय निर्वाचनमा राजनीतिक प्रकृया तथा मतदाता शिक्षामा प्रभावकारी रुपमा संचालन गर्न जोड दिए ।
स्थानीय जनप्रतिनिधिहरुले यस विषयमा पालिकाले आवश्यक पहल गर्ने बताएका थिए । कार्यक्रममा प्रदेश साँसद दवाडीले चुनावलाई मर्यादित र व्यवस्थित वनाउनको लागि पनि युवाको सहभागिता वढाउन आवश्यक भएको पनि बताएका थिए ।
त्यसै गरी पत्रकार महासंघको अध्यक्ष सापकोटाले चुवानको समयमा राजनीतिक दलका नेता तथा उम्मेदवारहरुले अरु दल प्रति घृणापुर्ण अभिव्यक्ति, गलत सुचना प्रचार गर्ने हुँदा युवाहरु र मिडियाकर्मीहरु सचेत हुनुपर्ने बताए ।
कार्यक्रममा विभिन्न जिल्लाको झण्डै ४० भन्दा वढि सहभागिहरुको सहभागिता रहेको थियो । कार्यक्रम युएडएआईडी तथा आइफेसको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल युवा संस्था संजालले सहजीकरण गरेको उक्त कार्यक्रमको सहजिकरण गैरसरकारी संस्था महासंघ गोरखाका सचिव हरिदेबकोटाले गरेका थिए ।