जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको शौचालयमा एक जना थुनुवा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
शुक्रबार बिहान करिब साढे ४ बजे लक्ष्मीनियाँ गाउँपालिका— २ का ४० वर्षीय पल्टु रविदासको शव फेला परेको धनुषाका एसपी प्रकाश रानाभाटले बताए।
उनका अनुसार पल्टु आफ्नै भाइ विल्टु रविदाससँग घरायसी विवादमा परेर ज्यान मार्ने उद्योग र अंगभंग मुद्दामा पक्राउ परेका थिए।
धनुषा जिल्ला अदालतबाट दुई लाख धरौटी माग भएको र सो रकम उनले तिर्न नसक्दा कारागार कार्यालय सिन्धुली पठाउन आदेश दिएको थियो।
कारागार पठाउने तयारी गरिरहेकै बेला उनले आत्महत्या गरेको प्रहरीको दाबी छ।
आर्थिक रूपले विपन्न रहेको र जेल भयका कारण उनले आत्महत्या गरेको हुनसक्ने एसपी रानाभाटले बताए।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले जनाए।