गोरखा । गोरखा नगरपालिका वडा नम्बर ८ ले सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक बर्ष २०७७/७८ मा वडाभित्र सञ्चालित कार्यक्रम तथा योजनाको समिक्षा तथा २०७८/७९ मा सञ्चालन हुने कार्यक्रम तथा बजेटको जानकारी दिन भन्दै वडा कार्यालयले सार्वजानिक सुनुवाई आयोजना गरेको जनाएको छ ।
वडाध्यक्ष कृष्ण बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यता तथा उपप्रमुख विना कुमारी श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो । सोच नेपालको सहजीकरणमा भएको कार्यक्रममा वडाले बर्षभरी गरेका आम्दानी तथा सेवा प्रवाहका बारे समेत सहभागीलाई जानकारी गराएको छ ।
वडाभित्रका सबै टोलविकास संस्था, राजनीतिक दल, स्थानीय सभा, सामुदायिक तथा नीजि विद्यालयका प्रधानाध्यापक, स्वास्थ्यचौकी इन्चार्ज, स्थानीय बासिन्दा लगायतको सहभागिता रहेको कार्यक्रममा अम्दानी विवरण सार्वजानिक गर्दै वडाध्यक्ष खत्रीले आर्थिक बर्ष २०७७/७८ मा वडाले ३१ लाख ८६ हजार ५ सय ५७ रुपैया राजश्व संकलन गरेको बताए । सम्पत्ति कर, मालपोत कर, बहाल कर, ब्यवसाय कर, सिफारिस दस्तुर लगायतबाट सो रकम आम्दानी भएको उनको भनाई छ ।

त्यस्तै एक बर्षमा वडाबाट १६५ वटा नागरिकता सिफारिस, चारकिल्ला प्रमाणित २ सय ७७, घरबाटो सिफारिस १५०, नाता प्रमाणित ७५ र अन्य १ हजार ६ सय ५१ गरी २ हजार ३ सय ५१ व्टा सिफारिसको सेवा दिएको जनाएको छ । त्यस्तै जेष्ठ नागरिक, दलित, अपांगता भएका, एकल महिला लगायतलाई गरी १ करोड ३९ लाख ५५ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरेको वडाध्यक्ष खत्रीले सार्वजानिक गरे ।
यसैगरी गत बर्ष वडाभित्र ४७ वटा योजनाहरु सम्झौता भएकोमा ४३ वटा सम्पन्न भईसकेको र ४ वटा भने क्रमागतमा रहेको बताइएको छ । जसमा वडागत बजेट तर्फ गत बर्ष भौतिक पूर्वाधारमा ६१ करोड, खानेपानी तथा सिंचाईमा ४ लाख ५० हजार, सामुदायिक भवन तर्फ ११ लाख ५० हजार, सामाजिक विकास तर्फ १ लाख, पर्यटकिय पूर्वाधारमा ३ लाख, स्वास्थ्य विकास १ लाख, वन वातावरणमा १ लाख र लक्षित वर्ग तर्फ ३ लाख बजेट बिनियोजन भई कार्य सम्पन्न भएको बताइएको छ । त्यस्तै गत बर्ष वडाभित्र नगर तर्फबाट १ करोड ५७ लाख बजेट बिनियोजन भएको र यस बर्ष झनै बढाएर १ करोड ६४ लाख रुपैया छुट्याइएको वडाध्यक्षले बताए ।
त्यस्तै वडामा वडागततर्फ बिभिन्न शिर्षकमा ९० लाख रुपैयाको कार्ययोजना अघि सारिएको बताइएको छ । जसमा भौतिक पूर्वाधारमा मात्रै ५२ लाख रहेको छ । कार्यक्रममा वडामा सञ्चालन भएका योजनाहरुलाई समयमै सम्पन्न गर्ने र नियमित रुपमा प्राविधिकबाट अनुगमन हुने वातावरण निर्माण गर्न वडा र नगरपालिकालाई सुझाव समेत दिएका छन् । साथै सहभागीहरुले योजना तर्जुमाको प्रकृयालाई सहभागितामुलक बनाउन समेत माग गरेका थिए । कार्यक्रमा उठेका जिज्ञासा तथा गुनासाहरुको वडाध्यक्ष खत्रीले जवाफ दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख पन्तले नगरपालिकाका कमिकमजोरीलाई सच्याउन सकरात्मक सुझाव दिन नगरवासीलाई आह्वान समेत गरेका छन् । ‘काम गर्दै जादा सबै पूर्ण हुदैनन्, केहि कमजोरी पक्कै हुन्छन्, त्यसलाई सच्याउने मौका हामीलाई दिनुस’ उनले भने ‘तर अहिले हुदै नभएका बिषयलाई पनि बुझ्दै नबुझी गलत प्रचार गर्ने बानीको विकास भएको छ, यसले कसैको भलो गर्दैन, गल्ती छ भने हामीलाई सकरात्मक सुझाव दिनुस हामी स्वागत गर्छौ ।’
त्यस्तै नगरप्रमुख पन्तले नगरपालिकाले सञ्चालन गरेका कार्यक्रम तथा योजनाहरुलाई पारदर्शि, जवाफदेहि बनाउन आफुहरु प्रतिवद्ध भएर लागेको समेत बताए । उनले हरेक कार्ययोजना निर्माण गर्दा नागरिकहरुको सहभागितालाई सुनिश्चित गर्ने प्रयत्न गर्दागर्दै समेत कोरोना भाइरसको जोखिमका कारण सबै स्थानमा सम्भव हुन नसकेको जानकारी गराए । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्र बहादुर खड्काले समेत बोलेका थिए ।