मोहसिन अलि मियाँ
गोरखा । नेपालमा अझैपनि आमा बुबाको काजकिरिया छोराले नै गर्नुपर्ने मान्यता रहदै आएको छ । पितृको शान्ति र मोक्ष प्राप्तिको लागि छोरीले पिण्ड तर्पण दिन नहुने भएकाले छोरा नभए मित छोरा वा बाबुआमा नभए भतिजा छोराहरुले नै कोरामा बसी पिण्ड चढाउनुपर्ने सामाजिक संस्कार अझैपनि पाइन्छ ।
तर गोरखाकी तिन दिदीबहिनी जसले धर्म र समाजलाई चुनौती दिदै कपाल समेत मुण्डन गरेर आमाको किरियापुत्री बसेका छन् । छोरोले मात्र काज किरिया गर्नुपर्ने सामाजिक संस्कारमा परीवर्तन हुनु पर्ने र परिस्थिती अनुसार छोरीले नै काजकिरिया गर्न सक्ने सन्देश दिदै गोरखा नगरपालिका वडा नम्बर १३ देउरालीकी तिन दिदीबिहिनीले आमाको काजकिरिया थालेका हुन ।

कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी ४० बर्षिया आमा इन्दिरा नरालको काजकिरिया अहिले १९ बर्षिया अर्चना, १७ बर्षिया अर्पना र १४ बर्षिया आशिका नारालले गर्दै आएका छन् । त्यति मात्रै होइन, किरियापुत्री बस्नकै लागि अर्चना र अर्पनाले त कपाल नै मुण्डन गरेका छन् । बाबु गणेश प्रसाद नराल र गाउँका पण्डित रामेश्वर खनाल लगायतको सल्लाहमा उनिहरुले कपाल मुण्डन गरेर काजकिरिया बसेको बताउछन् ।

उनीहरुका अनुसार आमाको सपना पूरा गर्न र समाजमा विद्यमान छोराछोरी विचको भेदभावका साथै रुढीबादी संस्कारलाई हटाउदै सकरात्मक सन्देश फैलाउन आफुहरु यो प्रकृयामा सामेल भएको अर्चना बताउछिन् ।
‘अहिलेपनि हाम्रो समाजमा छोरा र छोरीविचको भेदभाव उत्तिकै छ तर मेरो घरमा बाबाममीले हामीलाई कहिल्यै त्यस्तो ब्यवहार देखिाउनुभएन’ उनले भनिन ‘ममीको सपना पूरा गर्न पनि हामी आफै किरियापुत्री बसेका हौ ।’

छोरीहरुले नै आमाको काजकिरिया गरेपछि बाबु गणेश नराल झनै भावुक बनेका छन् । सन्तानको नाममा तिन छोरीहरु मात्रै रहेपनि छोराको झल्को मेटाएका उनि बताउछन् । आमाको किरियापुत्री बसेका छोरीहरु तिर हेर्दै उनले आफुलाई समाजको अगाडी गौरव महसुस भएको प्रतिकृया दिएका छन् ।

‘मलाई सन्तानका नाममा छोरा नभएर कुनै पश्चताप थिएन अहिले त झनै यो अवस्थामा छोरीहरुको काम देखेर मलाई गौरव लागिरहेको छ’ बाबु गणेशले भावुक हुदै भने ‘सबैका छोरीले यस्तै आँट गरे हाम्रो समाज अर्कै बन्थ्यो होला ।’

यता तिन दिदिबहिनीको शाहस देखेर समाज पनि दंग छ । सामाजिक कुसंस्कारलाई तोड्दै पुरुष सरह काजकिरिया प्रकृयामा रहेका उनिहरुलाई गाउँलेले साथ पनि दिएका छन् । उनिहरुले छोरा सरह १३ दिन नै किरियापुत्री बस्ने बताएका छन् ।

यता सामाजिक रुढीबाजीलाई चिर्न आफुहरुकै सल्लाहमा उनिहरु किरियापुत्री बसेको गुरु रामेश्वर खनालले बताए । ‘छोरा नै चाहिने परम्परा अब हामीले तोड्न सक्नुपर्छ, यो नानीहरुले साहस गरेर हामी आमाको काजकिरिया गर्छौ भनेपनि हामीले हुन्छ भनेर साथ दिएका हौ’ स्थानीय गुरु रामेश्वर खनालले भने ‘यो परम्परा फैलिन जरुरी छ ।’

अर्चना स्नातकको पहिलो बर्ष, अर्पना ११ कक्षा र आशिका १० कक्षामा पढ्दैछिन् । समाजमा रहेका कुरीति र कुसंस्कार तोड्दै समाज र परम्परालाई चुनौती दिएका तिन बिहिनीलाई समाजले के भन्ला भन्ने पिर भने छैन । कानूनले छोरा सरह अधिकार दिएपनि कार्यान्वयनको पाटो फितलो हुदा नारीहरु सधै पछाडी परेको उनिहरुको तर्क छ ।

नजिकैको गुण्डी खोलामा गएर दिनको दुइ पटक नुहाउने, पिण्डको पूजा गर्ने, खोलामै खाना पकाएर खाने अनि घर फर्केर शोकमा डुबेका बाबुलाई ढाडस दिने हाल उनिहरुको दिनचार्य रहेको छ ।
