• शनिबार, असोज १० २०८३

इनार खन्दा श्रीलंकामा भेटियो संसारकै सबैभन्दा ठूलो नीलमणि


बुधबार, साउन १३ २०७८
615
Shares

एजेन्सी । श्रीलंकाका अधिकारीहरूले संसारकै सबैभन्दा ठूलो नीलमणि आफ्नो देशमा फेला परेको बताएका छन्।

बिबिसीका अनुसार रत्नहरू प्रशस्त पाइने श्रीलंकाको रत्नपुरा क्षेत्रमा केही कामदारले इनार खन्दा उक्त नीलमणि फेला पारेका हुन्। एक जना रत्न व्यापारीले आफ्नो घरको छेउमा इनार खन्न लगाएका थिए।

विज्ञहरूले ५१० किलोग्रामको उक्त नीलमणिको अन्तर्राष्ट्रिय बजार मूल्य अहिले १० करोड डलर रहेको बताएका छन्।

यसलाई ‘सरेन्डिपिडी सफायर’ अर्थात् ‘भाग्यले भेटिएको नीलम’ नाम दिइएको छ । यो नीलमणिका धनीले सुरुमा मजदुरले इनार खन्दै गर्दा केही बहुमूल्य पत्थर फेला पारेको र पछि जाँच्दा त्यो नीलम भएको पुष्टि भएको बताएका छन् । उनले सुरक्षाको कारण आफ्नो नाम भने बताएका छैनन् ।

अधिकारीहरुलाई उनले यस विषयमा जानकारी गराएका थिए । तर, यो निलम सफा गर्न एक वर्षभन्दा लामो समय लाग्छ । त्यसपछि मात्र यसको सही मूल्यांकन गर्न सकिने बताइएको छ ।

रत्नपुरामा अरू प्रकारमा बहुमूल्य रत्न पनि पाइन्छन्। श्रीलंका अन्तर्राष्ट्रिय बजारमा रत्न निर्यात गर्ने प्रमुख मुलुक हो। गत वर्षमात्रै श्रीलंकाले रत्न बेचेर झन्डै आधा अर्ब अमेरिकी डलर कमाएको थियो।

अहिले भेटिएको नीलमणि ४० करोड वर्ष पहिले बनेको हुनसक्ने विज्ञहरूको भनाइ छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार