कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको एस मोडमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
कालिकोटको शुभकालिका गाउँपालिका—१ मा पर्ने राजमार्ग अन्तर्गतको एस मोडमा मिनी ट्रक दुर्घटनामा परेको हो।
मंगलबार अपराह्न ४ बजेतिर ना७ख ९५१६ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। दुर्घटनामा चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए।
उनका अनुसार चालक दीपक साउद र सहचालक रमेशबहादुर शाहीको मृत्यु भएको हो। सहचालक बाजुराको जुकोट गाउँपालिकाका हुन् भने चालकको ठेगाना खुलिनसकेको उनले जानकारी दिए।
उक्त मिनी ट्रक नेपालगञ्जबाट अक्सिजन सिलिन्डर र ग्याभिङ जाली बोकेर जुम्ला जाँदै गरेको उनले बताए।
प्रहरीका अनुसार ट्रकमा चालक र सहचालक मात्र सवार थिए।