• शनिबार, असोज १० २०८३

नेप्से परिसूचक अहिलेसम्मकै उच्च विन्दुमा, १५ अर्ब नाघ्यो कारोबार


मंगलबार, साउन १२ २०७८
535
Shares


काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्सेले नयाँ रेकर्ड बनाएको छ। यस दिन परिसूचक ३ हजार ७९ अंकमा पुगेको छ, जुन अंक अहिलेसम्मकै उच्च हो।

यसअघि आइतबार मात्रै परिसूचकले ३ हजार ५८ अंकको रेकर्ड बनाएको थियो। सोमबार ८ अंकले घटेको बजार आज फेरि २९‍.२ अंकले बढेको हो।

परिसूचकसँगै कारोबार रकम पनि बढेको छ। यस दिन १५ अर्ब १७ करोड रुपैयाँको सेयर किनबेच भएको छ। हिजो १४ अर्ब १३ करोडको कारोबार भएको थियो।

कारोबार रकममा भने यसअघि जेठ ३० गतेको रेकर्ड तोडिन सकेको छैन। सो दिन १९ अर्ब ५५ करोड रुपैयाँको सेयर किनबेच भएको थियो।

मंगलबार बैंकिङ, व्यापार, होटेल र पर्यटन तथा अन्य समूहको परिसूचक घटेको छ । तर, लगानीकर्ता भने उत्पादन तथा प्रशोधन र जलविद्युतमा झुम्मिएका छन् । उत्पादन तथा प्रशोधन समूहको परिसूचक ४.७४ र जलविद्युत समूहको परिसूचक ३.७५ प्रतिशतले बढेको छ ।

मंगलबार कुल २२५ कम्पनीको १ लाख ४१ हजार ६ सय ५२ कारोबार भयो । यी कारोबारबाट कुल ३ करोड २३ लाख ५५ हजार २ सय ६० कित्ता सेयर किनबेच भएको छ । मंगलबार कुल १५ अर्ब १७ करोड ६ लाख ५१ हजार ६ सय ४३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कुल १४ कम्पनीको मूल्य सर्किट लेवलमा बढ्यो । धेरै कमाउनेमा मल्टीप्रपोज फाइनान्स, खानीखोला हाइड्रोपावर, यूनाइटेड मोदी हाइड्रोपावर, नेपाल हाइड्रो डभलपर्ससहितका कम्पनीको मूल्य १० प्रतिशत भन्दा बढीले बढेको छ । सर्पोट माइक्रोफाइनान्स, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थासहितका कम्पनीको मूल्य भने बढी घट्नेमा रहृयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार