काठमाडौं । उत्तर अफ्रिकी मुलुक ट्युनिसियामा राष्ट्रपतिले प्रधानमन्त्रीलाई बर्खास्त गरिदिएका छन् भने संसद निलम्बन गरेका छन्। सरकारविरुद्ध देशभर विरोध प्रदर्शन चलिरहेको बेला राष्ट्रपति केस सैयदले संसद निलम्बन गर्दै प्रधानमन्त्री हिचम मेचिचीलाई बर्खास्त गरेका हुन् ।
कोरोना महामारीविरुद्ध लड्न र अर्थव्यवस्था ठिक तरिकाले सन्चालन गर्न नसकेको भन्दै ट्युनिसियामा सरकारविरुद्ध प्रदर्शन हुँदै आएको छ । केही शहरहरुमा प्रदर्शनले हिंसात्मक रुप लिएको छ ।
यहीबीचमा राष्ट्रपति सैयदले आइतबार संसद भंग गरेका हुन् । उनले एक नयाँ प्रधानमन्त्रीको सहयोगमा कार्यकारी अधिकार ग्रहण गर्ने पनि बताएका छन् । उनले आफ्नो यो कदम संवैधानिक भएको जिकीर गरेका छन् ।
सरकारी मिडियामा दिएको एक बयानमा राष्ट्रपति सैयदले भनेका छन्— पाखण्ड, विश्वासघात र जनताको अधिकार लुट्नेहरु र हतियार उठाउने योजना बनाउनेहरु सबैलाई म चेतावनी दिन चाहन्छु । जसले गोली चलाउने छ, उमाथि सशस्त्र बलले पनि गोलीले जवाफ दिने छ ।एजेन्सी