• शनिबार, असोज १० २०८३

प्रकाश सपुत र सुनिता दुलाल ‘विपद् जोखिम न्यूनीकरण सदभावना दूत’ नियुक्त


बिहिबार, साउन ७ २०७८
545
Shares


काठमाडौं । सरकारले चर्चित लोकगायक प्रकाश सपुत र लोकगायिका सुनिता दुलाललाई ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ नियुक्त गरेको छ।

नेपाल सरकार गृह मन्त्रालय अन्तरगतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी चर्चित लोकगायक सपुत र गायिका दुलाललाई गीत संगीतको माध्यमबाट समुदायमा विपद्सम्बन्धी जनचेतना अभिवृद्धि गर्नका लागि ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ नियुक्त गरिएको जानकारी गराएको हो।

गीत संगीतको माध्यमबाट समुदायका विपद् जोखिम न्यूनीकरणसम्बन्धी जनचेतनामूलक सन्देश प्रवाह गर्न उनीहरूलाई सोसम्बन्धी सद्भावना दूत नियुक्त गरिएको प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले जानकारी दिए।

उनले भने, ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्रियाकलापहरू प्रभावकारी रूपमा कार्यान्वयनका लागि जनचेतना अभिवृद्धि गर्न अति आवश्यक हुन्छ। यसै सन्दर्भमा गीत संगीतको माध्यमबाट समुदायमा जनचेतना अभिवृद्धि गर्ने मुख्य अभिप्रायबाट बाग्लुङ र सिन्धुपाल्चोक जिल्लाका स्थायी बासिन्दा तथा लोकप्रिय गायक, गायिका सपुत र दुलाललाई विपद जोखिम न्यूनीकरण सद्भावना दूत घोषणा गरिएको छ।’

प्राधिकरणले यस वर्षको मनसुनबाट सिन्धुपाल्चोक, मनाङ, बाजुरालगायतका ४८ जिल्ला बाढी, पहिरोबाट बढी प्रभावित रहेको उल्लेख गर्दै त्यसको क्षतिको मूल्यांकन गर्ने काम भइरहेको पनि जनाएको छ।

सरकारले सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरी राहतको आवश्यक व्यवस्था मिलाइसकेको बताएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार