नेपालका लेगस्पिनर सन्दीप लामिछानेले बिहीबारदेखि इंग्ल्यान्डमा सुरू हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको कम्तिमा सुरुवाती खेल गुमाउने सक्ने आशंका बढेको छ।
सन्दीप द हन्ड्रेड क्रिकेटमा ओभल इन्भिन्सिबलमा आबद्ध छन्। उनी ६० हजार पाउन्ड (झण्डै एक करोड रुपैयाँ) मा ओभलमा आबद्ध भएका थिए।
बिहिबार हुने उद्घाटन खेलमा सन्दीप आबद्ध ओभलले म्यानचेस्टर ओरिजिन्ससँग प्रतिस्पर्धा गर्दैछ।
सन्दीप प्रतियोगिताका लागि दुई साताअघि इंग्ल्यान्ड पुगेका थिए। उनले ब्रिटिश सरकारले तोकेको होटलमा आज मंगलबार १० दिनको अनिवार्य क्वारेन्टिन पूरा गर्दैछन्।
तर टिएर— ५ भिसामा इंग्ल्यान्ड पुगेकाले उनलाई ‘द हन्ड्रेड’ खेल्न अनुमति नभएको क्रिकेट सम्बन्धि वेभ पोर्टल क्रिक इन्फोका पत्रकार मार्ट रोलरले लेखेका छन्।
ओभलका कप्तान साम बिलिङ्ग्सले पनि सन्दीपले खेल्ने पक्का नभएको बताएका छन्।
‘अहिलेको अवस्थामा हामी अनिश्चित छौं,’ कप्तान बलिङ्ग्सले भनेका छन्, ‘संसारभरका खेलाडीका लागि विभिन्न प्रतिबन्धका लागि अहिले कठिन समय बनेको छ। यो समस्याको समाधान हुन्छ भन्ने आसा गरेको छु। उनी एक विशेष प्रतिभा भएका खेलाडी हुन्।’
अहिलेको अवस्थामा ओभलले तीन विदेशी खेलाडी मध्ये दुई जनालाई मात्र खेलाउन पाउछ। जसमा दक्षिण अफ्रिकाका कोलिन इनग्राम र वेस्ट इन्डिजका सुनिल नारिन लन्डन पुगिसकेका छन्। उनीहरू टिमका लागि उपलब्ध हुनेछन्।
यदि सन्दीपले खेल्न नपाएको अवस्थामा दक्षिण अफ्रिकाका देब्रे हाते स्पिनर तब्राइज सास्मीलाई टिममा राख्ने बुझिएको छ।
यसअघि बेलायतको भिसा समयमै नपाउदा सन्दीपले पहिलो पटक टी— २० ब्लास्ट खेल्ने अवसर गुमाएका थिए।
सन्दीप टी— २० ब्लास्टमा वर्सेस्टसायर र्यापिडमा आबद्ध भएका थिए। सन्दीपले टी— २० ब्लास्ट र द हन्ड्रेड खेल्नका लागि बेलायतको भिसाका लागि निवेदन दिएका थिए। तर भिसा ढिलो गरी पाउँदा टी— २० ब्लास्ट खेल्न जान ढिलाइ भएको थियो।
टी– २० क्रिकेटको लोकप्रियतासँगै इसिबीले नयाँ फर्म्याटको क्रिकेट प्रतियोगिता द हन्ड्रेड गर्न लागेको हो।